२०८२ मङ्सिर २७ गते शनिवार

दाङसहित विभिन्न ठाँउमा वर्षा : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

दाङ । आज दाङसहित देशका विभिन्न जिल्लामा पानी परीरहेकोे छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य प्रदेशका केही भागका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बाढी पूर्वानुमान महाशाखाले बाढी, डुवान र पहिरोको जोखिम रहेको भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेको भन्दै डुबान, आकश्मिक बाढी र पहिरोको जोखिम भएका सबै क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । जोखिम भए सुरक्षित ठाउँमा सर्न र नदी किनारमा नजान महाशाखाको अनुरोध छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस