रुपन्देही । रुपन्देहीमा विषालु प्रजातिको गोमन सर्प (कमन कोब्रा) को बिगबिगी देखिएको छ । तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा एउटै घरबाट २३ वटा, बुटवल ११ देवसिद्धचोकको एउटै घरबाट ८ वटा र देवदह ८ टटेराको एउटै घरमा ९ वटा गोमन भेटिएका हुन् ।
सर्प उद्धारकर्ताका अनुसार एउटै घरबाट यति ठूलो संख्यामा विषालु सर्प गोमन भेटिएको रुपन्देहीमा पहिलोपटक हो । तिलोत्तमा प्रेमनगरका डिलाराम अर्याललाई भान्सा कोठामा खाना पकाउँदै गर्दा सर्पले डसेर अस्पताल भर्ना भएपछि घरमा सर्प खोजतलासका क्रममा तीन दिनमा २३ वटा गोमन भेटिएका थिए ।
भान्सा कोठामा केही भाग फुटेको देखेपछि सर्प उद्धारकर्तालाई बोलाएर हेर्दा पहिलो दिन ५ वटा, दोस्रो दिन दिनभर खोज्दा थप १२ वटा सर्प भेटिएका थिए । तेस्रो दिन पनि खोजी गर्दा थप ६ वटा गरी २३ वटा सर्प फेला पारेर उद्धारकर्ताले जंगलमा लगेर छाडेका थिए ।
उक्त घटना लगत्तै बुटवल ११ देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरमा एकै दिन ८ वटा गोमन सर्प भेटिएका थिए । दुबै ठाउँमा भेटिएका सर्पलाई तिलोत्तमा १ का विशाल पाण्डे र उहाँको टिमले घरबाट निकालेर जंगलमा लगेर छाडेका छन् ।
स्रोत :अनलाइन खबर













