दाङ। दाङमा श्रमिकको नयाँ ज्याला दररेट आजदेखि लागु भएको छ । नयाँ आर्थिक वर्ष २०८२/२०८३ शुरु भएसंगै आजदेखि श्रमिकको नयाँ ज्याला दररेट लागु भएको हो ।
जिल्ला दररेट निर्धारण समितिले गरेको निर्णय अनुसार चालु आर्थिक वर्षमा पनि दक्ष सिकर्मी, नकर्मी र डकर्मीले दैनिक १ हजार ज्याला पाउने छन् । बितेको आर्थिक वर्षको तुलनामा यसपटक दैनिक ज्यालाको दररेट नबढेको हो ।
यस्तै अदक्ष कुल्ली, ज्यामी, ज्यामी नाइके, भरिया र स्प्रे म्यानले पनि चालु आर्थिक वर्षमा गतवर्षकै ज्याला पाउने भएको छ । समितिको निर्णय अनुसार चालु आर्थिक वर्षमा पनि अदक्ष कुल्ली, ज्यामी, ज्यामी नाइके, भरिया र स्प्रे म्यानले दैनिक ६ सय ७० रुपैँया पारिश्रमिक पाउने भएका छन् ।
यस्तै स्प्रे फोर म्यान र सुपरभाइजरले दैनिक पारिश्रमिक गतवर्षकै दररेट अर्थात ६९० रुपैँया पाउने भएका छन् । यसैगरी सिनियर सुपरभाइजर, इलेक्ट्रीसियन हाउस वायरिङले ७३०, नर्सरी नाइकले प्रति महिना १४ हजार ३१०, लेन्थ म्यानले दैनिक ६७० रुपैँया पारिश्रमिक पाउनेछन् ।
यस्तै अति जोखिमयुक्त क्षेत्र ब्लाष्टर, फायर म्यान, टनेल श्रमिक, रेडियोकर्मी विकिरणमा काम गर्ने दक्ष श्रमिक, उच्च तापक्रममा काम गर्ने श्रमिक, गोताखोर आदिले दैनिक १ हजार १४० न्यूनतम पारिश्रमिक पाउने भएका छन् भने अदक्ष श्रमिकले प्रतिदिन ८१० का हिसावले पारिश्रमिक पाउने भएका छन् ।
यसैगरी सामाजिक परिचालक, कडा मेहनत गर्ने कृषकले दैनिक ६८० रुपैँया पारिश्रमिक पाउने भएका छन् । यस्तै चेन म्यान, स्टाफ म्यान र सर्भे हेल्परले दैनिक ६७० रुपैँया पारिश्रमिक पाउने छन् ।
यसैगरी दक्ष पलम्बरले ७००, डिजेल पम्पसेट हेल्पर, क्याम्प वर्करले दैनिक ६७०, स्यालो ट्युबेल जडान गर्ने हेड मिस्त्रीले १२००, सहायक मिस्त्रीले ७६०, डोजर अपरेटरले ९४०, विद्युत मिटर रिडरले ८०० दैनिक पारिश्रमिक पाउने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
जिल्ला दररेट निर्धारण समितिको गत असार २९ गते प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षका लागि नयाँ दररेट निर्धारण गरेको हो ।















