दाङ, ६ साउन । लुम्बिनी प्रदेशमा बितको आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व संकलन भएको छ । लुम्बिनी प्रदेश सरकारले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको हो ।
आर्थिक वर्ष ०८१/८२ मा लक्ष्यको ४० दशमलव ९६ प्रतिशत मात्रै आन्तरिक राजश्व संकलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेश राप्ती उपत्यका देउखुरीले जनाएको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चार अर्ब ७१ करोड २० लाख ८३ हजार आन्तरिकरुपमा राजश्व संकलनको लक्ष्य राखेकोमा एक अर्ब ९३ करोड दुई लाख ७० हजार सात सय ६३ रुपैयाँ ७६ पैसामात्रै राजश्व संकलन गरेको छ ।
बेरुजु फिर्ता, निकासा फिर्ता र अनुदान फिर्ताको समेत जोडेर पनि आन्तरिकतर्फ लुम्बिनी प्रदेश सरकारले कुनै पनि शीर्षकमा लक्ष्य भेटाउन नसकेको शीर्षकगत राजश्व संकलनको तथ्यांकले देखाएको छ ।
प्रदेश सरकारले चालक अनुमतिपत्र सवारीबाट एक अर्ब ९५ करोड २० लाख वार्षिक लक्ष्य राखेकोमा ८० करोड ४८ लाख ३३ हजार १८ रुपैयाँ अर्थात लक्ष्यको ४१ दशमलव २३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ ।
सरकारी सम्पत्तिको बहालबाट ७८ लाख ३२ हजार रुपैयाँ लक्ष्य राखेकोमा १६ लाख १८ हजार सात सय ८७ रुपैयाँ ८० पैसा अर्थात लक्ष्यको २० दशमलव ६७ प्रतिशत मात्रै संकलन गरेको छ ।
सरकारी सम्पत्तिको बिक्रीबाट २६ लाख ११ हजार लक्ष्य राखेकोमा तीन लाख ५६ हजार नौ सय ५० रुपैयाँ मात्रै संकलन गरेको छ । जु्न लक्ष्यको १३ दशमलव ६७ प्रतिशत मात्रै हो ।















