दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ले सामाजिक सुरक्षा भत्ताको लागि टोल–टोलमै पुगेर परिचयपत्र नविकरण तथा लाभग्राही सूचिकरण गर्ने भएको छ । वडाले चालु आर्थिक वर्ष २०८२/२०८३ का लागि सामाजिक सुरक्षा भत्ता परिचयपत्र तथा लाभग्राही सूचिकरण गर्न लागेको हो ।
वडा अध्यक्ष मोहनलाल पौडेलले साउन ११ गतेदेखि भदौ मसान्तसम्म विभिन्न चरणमा वस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र तथा लाभग्राही सूचिकरण गर्ने बताउनुभयो ।
वडाले सार्वजनिक गरेको सूचना अनुसार सबैभन्दा पहिला साउन ११ र १२ गते सिमलखुटी किशोर महताराको घर नजिकै, साउन १३ गते आधारभूत विद्यालय बराहखुटी, साउन १४ देखि १६ गतेसम्म ढकना राधाकृष्ण मन्दिर, साउन १८ गतेदेखि २० गतेसम्म प्रावि बखरियामा शिविर संचालन हुने भएको छ ।
यस्तै साउन २१ गतेदेखि २३ गतेसम्म दमारगाउँ थमन योगीको घर नजिकै, साउन २५ गतेदेखि २६ गतेसम्म अम्बापुर बिमला कुमारी शर्माको घर नजिकै, साउन २७ गतदेखि २८ गतेसम्म गिधनिया टोप बहादुर चौधरीको घर नजिकै शिविर संचालन हुने भएकाले पायक पर्ने केन्द्रमा जान वडाले आग्रह गरेको छ । वडाअध्यक्ष पौडेलका अनुसार सबै केन्द्रमा बिहान ७ बजेदेखि शिविर संचालन हुने भएको छ ।
यस्तै साउन २९ गतेदेखि भदौ मसान्तसम्म दैनिक बिहान १० देखि बेलुका ५ बजेसम्म सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण तथा लाभग्राही सूचिकरण गरिने वडा कार्यालयले जनाएको छ ।
















