तुलसीपुर । दाङको तुलसीपुर कारागार परिसरमा वृक्षारोपण गरिएको छ । कारागार रहेको खाली जमिनमा आज (बिहीबार) वृक्ष रोपण गरिएको हो ।
‘रुख रोपौँ ,वातावरण स्वस्थ राखौ’ भन्ने उद्देश्य सहित तुलसीपुर,६ गोलौरा निवासी समाजसेवी टोपबहादुर महतारा र गीता बिष्ट महतारा दम्पतिको अगुवाइमा बिरुवा रोपण गरिएको हो ।

अम्बा,बेलौती,कागती,एभोकाडो र विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको समाजसेवी महताराले बताउनुभयो । यस स्थानमा हरेक वर्ष महतारा दम्पतिले विभिन्न प्रजातिका बिरुवाहरु रोपण गर्दै आउनुभएको छ ।
वृक्षरोपण कार्यक्रममा कारागार प्रशासक, ग्रीन तुल्सीपुर क्लिन तुलसीपुरका अभियन्ता बिमल रिजाल,कारागार सुरक्षा प्रमुख, कर्मचारी लगायतकाको सहभागिता रहेको थियो ।

तुल्सीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनुभएका अभियन्ता बिमल रिजालले वृक्ष रोप्नु मात्र ठूलो कुरा नभई हुर्काउनु महत्वपूर्ण विषय रहेको बताउनुभयो । तुलसीपुर कारागारका कारागार प्रशासक गिरबहादुर सेजुवाले वृक्षारोपण विगतदेखि हुँदै आएपनि संरक्षण नहुँदा समस्या भएकाले रोपिएका बिरुवा संरक्षण र हुर्काउनु आफ्नो प्रमुख दायित्व रहेको बताउनुभयो ।
















