२०८२ माघ २५ गते आइतवार

तुलसीपुरका मेयर टिकाराम खड्का चलचित्रमा कलाकारको भूमिकामा देखिने

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले चलचित्रमा अभिनय गर्नुहुने भएको छ । नगरप्रमुख खड्काले दाङमै छायांकन हुने नेपाली चलचित्र ‘जदौ’मा अभियन गर्न लाग्नुभएको हो ।

अन्तरजातीय प्रेमसम्बन्धमा आधारित यो चलचित्रमा आफूलाई सुहाउने भूमिका भएकाले अभिनय गर्ने निर्णय गरेको मेयर खड्काले बताउनुभयो ।

उहाँले स्थानीय कला, संस्कृति र समाजका कथालाई चलचित्रमार्फत उजागर गर्न पाउनु गर्वको विषय भएको प्रतिक्रिया दिनुभयो ।

काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्न लागेको चलचित्र आगामी भदौ पहिलो साताबाट छायांकन थालिनेछ ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा तयार हुँदै गरेको यो चलचित्र यसै वर्ष प्रदर्शन गर्ने तयारी छ ।

चलचित्रमा मेयर खड्कासहित कलाकारहरू मुकुन भुसाल, नीति शाह, प्रभात पाल, सन्ध्या श्रेष्ठ, ऋचा शर्मा, अनिल सुब्बा र सिपी पुडासैनी (धतुरे) लगायतले अभिनय गर्नेछन् ।

चलचित्रमा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा, नारायण शास्त्री, गोकुल केसी, अर्जुन खड्का, काजी केसी, सृजना शर्मा, दिपक पोखरेल र मनिष शर्मा सहनिर्मातामा रहेका छन् ।

श्याम तामाङले छायांकन गर्ने चलचित्रको निर्माण व्यवस्थापन बुद्धिलाल माझी (देवा) ले गर्नुहुने भएको छ भने कला निर्देशन चिरञ्जीवि भण्डारी र द्वन्द्व निर्देशन मिलन श्रेष्ठले गर्नुहुने भएको छ । मुख्य सहायक निर्देशक बिनयराज पौडेल रहेको चलचित्रका गीतमा बाबुल गिरी र सरोज पोखरेलको संगीत रहनेछ ।

दाङको सामाजिक परिवेश र अन्तरजातीय प्रेमकथा उठान गर्ने यो चलचित्रले स्थानीय स्तरमै मात्र नभई राष्ट्रिय स्तरमा समेत चर्चा पाउने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस