तुलसीपुर । थारु समुदायका चाडपर्वमा केही विकृतिहरू भित्रिएको भन्दै सचेत भएर संस्कृति संरक्षणमा लाग्नुपर्नेमा थारु अगुवाहरूले जोड दिएका छन् ।
थारु विद्यार्थीहरूको हक अधिकारका लागि आयोजित छलफल तथा अष्टिम्की र अट्वारी पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् । सामाजिक सञ्जालको अत्यधिक प्रयोग बढ्दै गएकाले यसलाई सही तरिकाले सदुपयोग गर्न विद्यार्थीहरूलाई पनि आग्रह गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीले अष्टिम्की र अट्वारी पर्वका सन्दर्भमा देखिएका विकृतिहरू सच्याउँदै मौलिक संस्कृति जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले अष्टिम्की महिलाको र अट्वारी पुरुषको पर्व भएकाले यी दुवै चाडको पौराणिक, सांस्कृतिक र धार्मिक महत्वबारे चर्चा गर्नुभयो । साथै उहाँले थारु समुदायका लागि थुप्रै अवसरहरू रहेको भन्दै विद्यार्थीहरूलाई अध्ययनमा लगनशील हुन सुझाव दिनुभयो ।

विद्यार्थी जेएन चौधरीले राणा शासन अन्त्यदेखि गणतन्त्र र लोकतन्त्र स्थापनासम्मका आन्दोलनमा थारु समुदायको महत्वपूर्ण योगदान रहेको बताउँदै सरकारले विभिन्न शीर्षकमा छात्रवृत्ति वितरण गर्दा थारु विद्यार्थीका लागि पनि कोटा छुट्याउन माग गर्नुभयो ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री, तुलसीपुर उपमहानगरपालिका–१२ का अध्यक्ष खुशीराम चौधरी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपूल पोख्रेल, थारु कल्याणकारिणी सभा तथा थारु पत्रकार संघ दाङका सल्लाहकार लक्ष्मीमान चौधरी, नेपाल विद्यार्थी संघ महाधिवेशन प्रतिनिधि सन्तोष चौधरी, थारु कल्याणकारिणी सभा दाङ क्षेत्र नं. ३ का अध्यक्ष कल्पना चौधरी, नेपाल थारु संघ दाङकी सदस्य मिना चौधरी लगायतका वक्ताले संस्कृति संरक्षणमा सबैको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए ।

सो अवसरमा विभिन्न तहमा उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित विद्यार्थीहरूमा बबिता चौधरी, पूजा चौधरी र रुपेश चौधरी रहेका छन् ।
नेपाल थारु संघ तुलसीपुर नगर कार्य समितिको आयोजनामा तथा थारु कलाकार मञ्च दाङको सहआयोजनामा कार्यक्रम भएको हो । नेपाल थारु संघ तुलसीपुर नगर समितिका अध्यक्ष पुरन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इन्द्र चौधरीले गर्नुभएको हो । कार्यक्रममा अष्टिम्की सम्बन्धी थारु गीत–नृत्यसहित स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको थियो ।















