दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ अमेल्चीनगर टोलमा वस्तीको बिचैमा बंगुरपालन हुँदा स्थानीयलाई समस्या बनाएको छ । बंगुरपालनले अमेल्ची नगरसहित वरवरको वस्तीमा दुर्गन्ध फैलिएको स्थानीयको गुनासो छ ।
नजिकमा भएको बंगुर फर्मको दुर्गन्धका कारण खाना खान र बस्न समस्या भएको स्थानीय सीता रसाईलीले बताउनुभयो । बंगुर फर्म हटाउनका लागि पटकपटक आग्रह गर्दा पनि सम्बन्धित व्यक्तिले अटेर गरेको उहाँको गुनासो छ ।
‘घर नजिकै बंगुरपालन छ, यसको दुर्गन्धका कारण घरमा बस्न, खान नमिल्ने अवस्था छ ।’ उहाँले भन्नुभयो–‘दुर्गन्ध अत्याधिक आउने भएकाले खाना खाएर आफन्तकोमा सुत्न जाने गरेका छौँ ।’
अमेल्चीनगरमा तुलसीपुर–५ शारदाटोल निवासी भुपेन्द्र नेपालीले संचालन गरेको बंगुर फर्मकै धेरै दुर्गन्ध रहेको स्थानीयको गुनासो छ । नेपालीको बंगुर फर्म करिब २ कट्ठा ऐलानी जग्गामा गरिएको छ ।
बंगुर फर्मकै कारण दुर्गन्ध फैलिएको गुनासो आएपछि अमेल्चीनगर टोल विकास संस्थाले गत साउन १० गते फर्म हटाउनुपर्ने निर्णय समेत गरिसकेको छ ।
टोल विकास संस्थाका अध्यक्ष बिष्णुबहादुर जिसीले फर्म धनि भुपेन्द्रलाई वस्तीको बिचबाट फर्म हटाउन आग्रह गरिएको र आगामी कार्तिकको पहिलो साताभित्र फर्म हटाउने मौखिक प्रतिवद्धता जनाएको बताउनुभयो । अमेल्चीनगरमा करिब ४ ठाउँमा बंगुर पालन गरिएको छ ।
बंगुरपालक भूपेन्द्रले रेडियो हाम्रो पहुँचसंगको कुराकानीमा आगामी कार्तिक सम्ममा उक्त ठाउँबाट सार्ने बताउनुभयो । ‘पहिला वस्ती थिएन, त्यस ठाउँमा बंगुरपालन गर्न शुरुवात गरेको थिएँ ।’ उहाँले भन्नुभयो–‘अहिले वस्ती बाक्लो हुँदै जाँदा स्थानीयले दुर्गन्धित महशुस गरेकाले त्यस ठाउँबाट हटाउने तयारी गरेको छु ।’
तुलसीपुर–७ का वडाअध्यक्ष रामबहादुर जिसीले बंगुरपालन वस्तीको बिचमा हुँदा दुर्गन्ध फैलिएको गुनासो आएको र वडाले सम्बन्धित टोल विकास संस्थालाई समस्या समाधानका लागि आग्रह गरेको बताउनुभयो ।
उहाँले टोलको अनुरोधलाई वेवास्ता गरिएमा वडाले नै पहल थाल्ने बताउनुभयो । ‘वस्तीको बिचमा बंगुरपालन गर्न मिल्दैन ।’ उहाँले भन्नुभयो–‘यसअघि पनि स्थानीयको गुनासो आएकाले समस्या समाधानका लागि सम्बन्धित टोल विकास संस्थालाई जिम्मेवारी दिएका छौँ ।’














