दाङ। कुवेतमा विषाक्त मदिरा सेवनबाट ११ नेपालीको मृत्यु भएको छ भने १५ जना आइसियूमा उपचारात रहेका छन् । पछिल्लो पटक विषाक्त मदिरा सेवनका कारण थप दुईजना नेपालीको मृत्यु भएको छ ।
यससँगै पछिल्लो चार दिनमा मृत्यु हुने नेपाली कामदारको संख्या ११ पुगेको हो । मंगलबार मदिरा सेवनबाट बिरामी परेकामध्ये ४० नेपाली अझै उपचाररत छन् । तीमध्ये १५ जना आइसियूमा छन् ।
कुवेतस्थित नेपाली राजदूतावासका श्रमसहचारी गिरीप्रसाद आचार्यले थप दुईजना नेपालीको मृत्यु भएको जानकारी आएको र मृतकका परिवारसँग सम्पर्क भइरहेको बताउनुभयो । मृतकको मेडिकल रिपोर्ट आउने क्रममा छ । प्राप्त भएजतिको मेडिकल रिपोर्टका आधारमा परिवारसँग सम्पर्क गरिरहेको उहाँले बताउनुभयो ।
यसअघि कुवेतको स्वास्थ्य मन्त्रालयले मदिरा सेवनबाट एसियाली मूलका कम्तीमा २३ जनाको मृत्यु भएको र १६० जना अस्पतालमा भर्ना भएको सार्वजनिक गरेको थियो । कतिपयको किड्नीमा गम्भीर समस्या देखिएको छ । अति प्रज्वलनशील मेथानोल मिसिएको मदिरा सेवनबाट नेपालीको मृत्यु भएको कुवेतका सरकारी अधिकारीले नेपाली राजदूतावासलाई जानकारी दिएका छन् ।
कुवेतमा मदिरा प्रतिबन्धित छ । मदिरा बेच्ने र सेवन गर्ने दुवैमाथि कानुनी कारबाही हुँदै आएको छ । नेपाली राजदूतावासले मदिरा सेवन नगर्न नेपाली कामदारका नाममा सूचना जारी गर्दै आएको छ । कुवेतमा एक लाख ६० हजारभन्दा बढी नेपाली छन् ।















