२०८२ फाल्गुन २ गते शनिवार

तीज खर्च कटौति गरेर सपना बस्नेतले गरिन विद्यालयलाई आर्थिक सहयोग

दाङ। सामाजिक क्षेत्रमा क्रियाशिल तुलसीपुर निवासी महिला उद्यमी सपना भण्डारी बस्नेतले तुलसीपुर–९ दोघरेमा रहेको माध्यमिक विद्यालयलाई चालिस हजार आर्थिक सहयोग गर्नुभएको छ ।

तुलसीपुर–५ निवासी बस्नेतले आइतबार विद्यालयमै पुगेर विद्यालयका प्रधानाध्यापक सुनिता यादवलाई चालिस हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।

समाजसेवी बस्नेतले विद्यालयमा विद्यार्थीको अध्ययनमा सहजता ल्याउन राउण्ड टेवल निर्माणका लागि आर्थिक सहयोग गरिएको बताउनुभयो ।

उहाँले पछिल्लो समय तीज पर्व मनाउने शैली भड्कीलो बन्दै गएको भन्दै आफुले बालबालिकाको पढाइमा सहजताका लागि विद्यालयलाई सहयोग गरेको बताउनुभयो । ‘म हिन्दु महिला भएकाले तीज पर्व मनाउँछु, तर भड्कीलोरुपमा होइन्, बरु तीज मनाउने खर्च कटौती गरेर विद्यालयलाई पनि सहयोग गर्न सकिन्छ भन्ने सोचका साथ विद्यालयमा सहयोग गरेको हुँ ।’ उहाँले भन्नुभयो–‘१०८ शिव लिंग बनाएर होइन, बरु १०८ बालबालिकाको शिक्षामा सकात्मक परिवर्तन ल्याउन सानो प्रयास गरेको छु ।’

उहाँले धन सम्पति प्रशस्त भएर भन्दा पनि खाजा खर्च, तीज मनाउने खर्च कटौति गरेर विद्यालयलाई सहयोग गरेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक सुनिता यादवले विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा समाजसेवी बस्नेतले देखाएको सामाजिक कार्यको प्रशंसा व्यक्त गर्दै आभार प्रकट पनि गर्नुभएको छ ।

उहाँले विद्यालयमा जेहेन्दार तथा विपन्न बालबालिकाको पढाइमा सहयोग पुर्‍याउन विद्यालयले थालेको अभियानमा जोडिन सम्पूर्णमा अनुरोध समेत गर्नुभएको छ ।

उहाँले सामाजिक अभियान्ता डा. किशोर खत्रीले पनि विद्यालयमा १ लाख बराबरको अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता जनाएको बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालले महिला उद्यमी सपना बस्नेत र डा. किशोर खत्री लगायतले सामाजिक क्षेत्रमा खेल्नुभएको भूमिका प्रशंसनिय रहेको बताउनुभयो ।

त्यस अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले मावि दोघरेको शैक्षिक एवं भौतिक विकासमा आफ्नो सहयोग रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै डा. किशोर खत्रीले पनि मावि दोघरेकै पूर्व विद्यार्थी भएको बताउँदै आगामी दिनमा आर्थिक एवं भौतिक सहयोग रहने बताउनुभयो । कार्यक्रमको सहजीकरण विद्यालयका सूचना अधिकारी मेघराज पोखरेलले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस