रोल्पा। रोल्पामा जंगली च्याउ खाएर गम्भिर बिरामी भएका एकै घरका दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी, प्रहरी निरीक्षक रोहीतकुमार शाहीका अनुसार जंगली च्याउ खाएर गम्भिर बिरामी भएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं.२ राङसी निवासी ८१ वर्षिय भागीराम वली र उहाँको श्रीमती ७४ वर्षिय नर्मला वलीको निधन भएको हो ।
वली दम्पतिले साउन २७ गते राती जंगली च्याउ खाएर गम्भिर बिरामी भएका थिए । गम्भिर बिरामी दुवै जनाको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि साउन २९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको थियो ।
प्रतिष्ठानमा उपचारको क्रममा श्रीमतीको शनिबार बिहान निधन भएको हो भने श्रीमानको आइतबार बिहान निधन भएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।
















