घोराही। समाजले अझै पनि निसन्तानपनको समस्या महिलासंग मात्रै जोडेर हेर्ने प्रवृत्ति रहेको भन्दै यसलाई परिवर्तन गर्नुपर्नेमा घोराहीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्।
मङ्गलबार घोराहीमा रहेको निसन्तानपन उपचार क्लिनिककाे आयोजना तथा घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयुक्त आयोजनामा भएकोे “निसन्तानपन सम्बन्धी सचेतना तथा अभिमुखीकरण” कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
घोराही–१५ की धना जिसीले सन्तान नहुने कारण महिलामाथि मात्र दोषारोपण गर्ने परम्परा आज पनि कायम रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“सन्तान नहुँदा महिलामाथि दोष लगाउने, पारिवारिक बेमेल, सम्बन्ध विच्छेददेखि आत्महत्यासम्मका घटनाहरू दुःखद छन् ।”
निसन्तानपनको समस्या महिला तथा पुरुष दुवैमा हुन्छ भन्ने कुरा बुझाउन नसक्नु र उपचार सम्भव छ भन्ने ज्ञान नहुँदा यस्तो समस्या आउने गरेको उहाँले बताउनुभयो ।

यस्तै घोराही १५ का बिना खनालले निसन्तानपनलाई सबैभन्दा ठूलो समस्या मानेर लुकाउने कारण पनि यस्ता समस्याहरू आउने गरेको बताउनुभयो । विभिन्न कारण सन्तान नभएका दम्पतीले समस्या बताउन समाजमा लाज मान्ने र समस्या खुलेर व्यक्त गर्न नसक्दा दीर्घकाल रुपमा समस्या निम्तने गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले विवाहलाई केवल सन्तान उत्पादनको माध्यमका रूपमा मात्रै हेर्ने सामाजिक मानसिकताले महिलामाथि अन्यायपूर्ण दबाव सिर्जना गरेको बताउनुभयो ।
सन्तान नहुँदा महिला मात्र दोषी भन्ने सोचले महिलाहरूको आत्मविश्वासमा आघात पु¥याउने र सामाजिक अपमानको शिकार बनाउने प्रवृत्ति बढेकाप्रति चिन्ता व्यक्त गर्नुभयो । साथै, पुरुष र महिलाको स्वास्थ्य तथा प्रजनन क्षमताको समान परीक्षण र उपचार आवश्यक रहे पनि समाजमा महिलालाई मात्र दोषी देखाउने चलन समस्याको मूल कारण भएको भन्दै दाङमै पहिलो पटक यस्तो सेवा प्राप्त हुनु खुशीको कुरा रहेको बताउनुभयो ।

कार्यक्रममा निःसन्तानपन सम्बन्धी समस्याका विषयमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले बाँझोपन समस्याका विषयमा थाइराइड औषधिको सेवन,खानपान र जिवनशैली लगाएतका विषयमा विभिन्न प्रश्नहरु राखेका थिए । त्यसको जवाफमा महिला तथा स्त्री रोग विशेषज्ञ डा.रोशनी केसीले थाइराइड औषधिको सेवनले सन्तान गर्भमा बस्न नदिने भन्ने भ्रम पूर्णतः असत्य भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “थाइराइडको औषधि सेवन गर्ने महिलामा बच्चा बस्दैन भन्ने धेरै भ्रम छ, तर त्यो होइन। बच्चा गर्भमा बसाल्न थाइराइड हर्मोन अत्यन्तै आवश्यक हुन्छ । थाइराइडको स्तर बढी वा घटि रहेको खण्डमा औषधिबाट सन्तुलनमा ल्याउनुपर्छ । औषधि नखाँदा बच्चा बस्न सक्दैन, खेर जान सक्छ, वा जन्मिए पनि मानसिक कमजोरी हुने खतरा हुन्छ। त्यसैले चिकित्सकको सल्लाहमा औषधि निरन्तर सेवन गर्नुपर्छ ।”
उहाँले विगतमा प्रविधिको पहुँच नहुँदा सन्तानविहीन भएर बस्नुपरेको वा अरूको बच्चा पाल्नुपर्ने बाध्यता रहेको भएपनि अहिले प्रविधि दाङसम्म आइपुगेकाले यहाँ नै उपचार सम्भव रहेको बताउनुभयो । यस्तै खानपान र जिवनशैलीका कारण पनि कतिपय समस्याहरु रहेको जानकारी दिनुभयो । पछिल्लो चार महिनामा दाङमा २० दम्पतीलाई प्राकृतिक रूपमै मातृत्व सेवा उपलब्ध गराइएको समेत उल्लेख गर्नुभयो ।
उमेरका आधारमा आइभिएफ गर्नैपर्छ भन्ने धारणा पनि गलत भएको उहाँको भनाइ छ। डा. केसीले भन्नुभयो“४७ वर्षमा पनि एक दम्पतीले प्राकृतिक रूपमा बच्चा जन्माएका छन् भने अर्काे दम्पतीले २५ वर्षमै आइभिएफ गर्नुपरेको छ । त्यसैले उमेर भन्दा पनि स्वास्थ्य अवस्थाले भूमिका महत्वपुर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
शिशु निसन्तानपन उपचार क्लिनिकका प्रमुख अविनाश भण्डारीको अध्यक्षता तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निःसन्तानपनका विषयमा समाजमा सचेतना फैलाउनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले पछिल्लो समय आत्महत्याका घटनाहरू बढ्नुमा निसन्तानपनसम्बन्धी समस्याको पनि भूमिका हुनसक्ने भन्दै यस विषयमा सुक्ष्म अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वास्तविक समस्या लुकाएर राख्दा परिवारमा विग्रह, समाजमा कलह र दाम्पत्य जीवनमा दरार आउने गरेको देखिन्छ। यस्ता संवेदनशील विषयहरूमा खुलेर छलफल गरी समाजमा चेतना फैलाउन जरुरी छ।”
सन्तान नहुनु आफैंमा एउटा पीडादायी अवस्था भएको उल्लेख गर्दै, “त्यस्ता अवस्थामा पीडित दम्पतीलाई सहानुभूति, उचित सल्लाह र परामर्श दिन सक्ने हो भने त्यो नै पुण्यको काम हुने बताउनुभयो ।
उहाँले समाजमा व्याप्त अन्धविश्वास, आरोप–प्रत्यारोप र लज्जाबोधका कारण धेरै दम्पती समस्या लुकाएर बसिरहेको उल्लेख गर्दै, यस्ता गम्भीर विषयमा संचार माध्यम, स्वास्थ्य संस्था र सरोकारवाला सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
निसन्तानपनको समस्या समाधानका लागि स्थापित शिशु निसन्तानपन उपचार केन्द्र चितवनले चार महिनाअघि दाङको घोराहीमा शाखा विस्तार गरेको थियो । हालसम्म संस्थाले देशभरका पाँच सय भन्दा बढी दम्पतीलाई मातृत्व सेवा प्रदान गर्दै आमाबुवाको सुख दिलाउन सफल भएको जनाएको छ ।
संस्थाका सञ्चालक चिरञ्जीवी ढकालका सहजिकरणबाट सुरु भएको कार्यक्रममा स्वास्थ्यकर्मी सुशीला राउतले विषय प्रवेश गराउँदै, समाजमा निसन्तानपनको मुख्य दोष महिलालाई मात्र लगाउने गलत धारणा व्यापक रहेको बताउनुभयो।
“निसन्तानपनको उपचार गर्नुभन्दा पहिला समाजले बहिष्कार गर्छ भन्ने डरले दम्पतीहरूले समस्या लुकाउँछन्,” उहाँले भन्नुभयो, “तर समयमै उपचार नगरिँदा समस्या झन् जटिल बन्दै जान्छ।”
कार्यक्रममा संस्थाका सल्लाहकार कमल थपलिया, केन्द« प्रमुख अविनाश भण्डारी र दाङ शाखा प्रमुख विज्ञान भण्डारीले पछिल्लो समय निसन्तानसम्बन्धी समस्या बढ्दै गएकाले आफूहरूले भोगेको पीडा अन्य दम्पतीले भोग्न नपरोस् भन्ने उद्देश्यले दाङबाटै सेवा प्रवाह थालिएको जानकारी दिनुभयो ।
विगतमा दाङमा यस्तो उपचार सेवा उपलब्ध नहुँदा धेरै दम्पतीहरू जागिर, व्यवसाय वा अन्य पारिवारिक जिम्मेवारी छाडेर ठूलो धनराशि खर्च गर्दै जिल्ला वा देश बाहिर जानुपर्ने बाध्यता थियो।















