दाङ । तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले जन्मदिनको अवसर पारेर रक्तदान गर्नुभएको छ । अध्यक्ष भण्डारीले बुधबार बिहान चेम्बरको कार्यालयमा रक्तदान गर्नुभएको हो ।
सामान्यतया जन्मदिनलाई भोज, पार्टी वा मनोरञ्जनका कार्यक्रमसँग जोड्ने चलन रहेको अवस्थामा अध्यक्ष भण्डारीले भने रक्तदान जस्तो सामाजिक कार्य गर्नुभएको हो ।
उहाँले जन्मदिनको अवसरलाई समाजसेवामै जोड्नुपर्ने बताउँदै रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । उहाँले अहिलेसम्म ३६ पटक रक्तदान गरिसक्नुभएको छ । अध्यक्ष भण्डारीले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय सेवामूलक काममा सक्रिय रहँदै आउनुभएको छ ।
रक्तदान कार्यक्रममा चेम्बर अफ कमर्शका पदाधिकाहरु, व्यवसायी तथा समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो । उहाँलाई जन्मदिनको शुभकामना दिने क्रममा उपस्थितहरुले रक्तदानलाई मानवताको महान योगदानका रूपमा लिनुपर्ने बताएका थिए ।














