दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई सडक आश्रित मानवमुक्त घोषणा गरिने भएको छ । उपमहानगरपालिकालाई आगामी भदौ २८ गते सडक आश्रित मानवमुक्त घोषणा गरिने भएको हो ।
नगरप्रमुख टिकाराम खड्काले आगामी भदौ २८ गते शनिबार सडक आश्रित मानवमुक्त पालिका घोषणा गरिने बताउनुभयो । उहाँले घोषणा कार्यक्रमलाई सफल बनाउनका लागि सम्पूर्ण सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
सडक आश्रित मानवमुक्त घोषणाका लागि तयारीस्वरुप आइतबार सरोकारवालासंग भएको छलफलमा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले १९ वटै वडाका ५ हजार बढीको उपस्थितिमा घोषणा कार्यक्रम गरिने बताउनुभयो । उहाँले सडक आश्रित मानवमुक्त घोषणाका लागि छिट्टै विभिन्न बैठक बसेर व्यापक तयारी गरिने बताउनुभयो ।
मानव सेवा आश्रमका परिकल्पनाकार राम जि अधिकारीले २०८२ सालभित्र नेपाललाई नै सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारीस्वरुप तुलसीपुर उपमहानगरपालिकालाई पनि घोषणा गर्ने गरी तयारी अघि बढेको बताउनुभयो । उहाँका अनुसार देशभरका २१ जिल्लामा २७ सेवा केन्द्रमा सहयोगापेक्षि सडकआश्रित मानवको संरक्षण भइरहेको बताउनुभयो ।
उहाँले कार्यपत्र प्रस्तुत गर्नुहुँदै दाङमा अहिलेसम्म २६४ जनाको उद्धार गरिएको र १२६ जनाको परिवारमा पुनर्मिलन गराएको बताउनुभयो । मानव सेवा आश्रम तुलसीपुरमा अहिले ६६ जना आश्रित रहेको उहाँले बताउनुभयो । प्रमुख अधिकारीले घोषणा कार्यक्रम पश्चात पनि कहि कतै देखिएमा ५ घण्टाभित्र उद्धार गरिने बताउनुभयो ।
सडकआश्रित मानवमुक्त घोषणाका लागि अहिले सडकपेटीमा बसोबास गर्ने मानवलाई उद्धार अभियान, सरोकारवालासंग छलफल, समन्वयको काम भइरहेको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताउनुभयो । यस्तै सरोकारवालाले घोषणापछि पनि उद्दार अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारी, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान सहसचिव दिप्तीशिखा चौधरीले अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।















