२०८२ फाल्गुन २९ गते शुक्रवार

रक्तसञ्चार केन्द्रमा छैन रगत वर्गीकरण गर्ने मेसिन


दाङ । राप्ती प्रादेशिक अस्पताल तmुसीपुरको प्राङ्गणमा रहेको रक्त सञ्चार केन्द्रमा रगत वर्गीकरण गर्ने मेसिन छैन । विसं २०७४ देखि सञ्चालित कालिकादेवी रक्त सञ्चार केन्द्रमा अझै पनि रगत वर्गीकरण गर्ने (कम्पोनेन्ट मेसिन) नहुँदा रगत वर्गीकरणमा समस्या भएको छ ।

रक्त सञ्चार केन्द्रका इन्चार्ज नरेश चौधरीका अनुसार अहिले फ्रिज मात्र छ, रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन छैन । कसैलाई सेतो रक्तकोषिका चाहिएको हुन्छ, त्यसका लागि कि त घोराही वा नेपालगन्जबाट ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

अहिले पनि महिनामा २० जनाभन्दा बढीलाई सेतो रक्तकोषिका चाहिने गरेको छ, तर त्यो रगत नहुँदा कुनै बिरामीलाई ‘होलब्लड’ नै दिने गरिएको छ । अति आवश्यक परेमा घोराहीबाट ल्याउने गरिएको उहाँको भनाई छ ।

मेसिन भएमा रातो रक्त कोष, सेतो रक्त कोष, प्लेटलेट रगत छुट्याएर जुन बिरामीलाई आवश्यक पर्छ, त्यसैलाई दिन सकिने चौधरीले बताउनुभयो । माग भइरहे पनि उक्त मेसिन नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।

हाल कम्पोनेन्ट मेसिन घोराहीमा मात्र छ । रेडक्रसले घोराहीमा सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा मात्र कम्पोनेन्ट मेसिन छ । प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको सहयोगमा रु ३५ लाखमा उक्त मेसिन ल्याइएको हो । हाल दाङमा सोही मेसिनबाट नै काम चलाउने गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अधिकृत विश्राम अधिकारीले बताउनुभयो । रासस

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस