दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ भेलाहीमा नयाँ सहकारी संस्था दर्ता गर्ने उद्देश्यले शुक्रबार पुर्व सहकारी शिक्षा तालिम प्रदान गरिएको छ ।
प्रस्तावित जलजले कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश बहादुर ओलीको अध्यक्षतामा तालिम संचालन भएको हो ।
उपाध्यक्ष गंगा ओलीको स्वागत मन्तब्यबाट शुरू भएको तालिममा विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का वडा सदस्य पार्वती कामीले सामुदायिक विकासका लागि सहकारीको अपरिहार्यता रहेको बताउनुभयो ।
स्थानिय आर्थिक विकासको मेरूदण्ड सहकारी नै भएको बताउदै उहाँले नागरिकको जीवन रूपान्तरणका लागि सहकारीले काम गर्नुपर्ने बताउनुभयो ।
संस्थाका सचिव लाल बहादुर बस्नेतले सञ्चालन गर्नु भएको तालिम कार्यक्रममा समाजसेवी भुप बहादुर केसीले मन्तब्य राख्नु भएको हो ।
जिल्ला सहकारी संघ लिमिटेड दाङका महासचिव शुक्रराज भण्डारीले सहकारीको अर्थ, अवधारणा, महत्व र सहकारीका मूल्य, मान्यता र सिद्धान्तका विषयमा प्रशिक्षण दिनु भएको थियो । तालिममा ५० भन्दा बढी स्थानीय नागरिकको सहभागिता रहेको थियोे ।














