२०८२ माघ २५ गते आइतवार

सुरक्षा संवेदनशीलतालाई हेरी दाङमा कर्फ्यु समय बढाइयो


दाङ । सुरक्षा संवेदनशीलतालाई हेरी दाङमा कर्फ्यु समय बढाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार दाङमा भोली बिहान ५ बजेसम्मलाई कर्फ्युको समय थप गरिएको हो ।

सुरक्षा संवेदनशिलतालाई मध्यनजर गदै भोली बिहान ५ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो । यसअघिको कर्फ्यु आज राति १२ बजेसम्म रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सुरक्षा अवस्था हेरेर फेरि कर्फ्युको समय थप गरिएको बताउनुभयो । कर्फ्युकोे समयमा सकेसम्म घर बाहिर ननिस्कन अनुरोध गरिएको छ ।

जेनजीको आन्दोनलनका कारण स्थिति असमान्य बनेपछि दाङको प्रमुख बजार तुलसीपुर, घोराही, लमही र भालुवाङ क्षेत्रमा मंगलबारदेखि कर्फ्यु जारी रहेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ३ बमोजिम चार किल्ला तोकी सो सिमा भित्र कसैले आवतजावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उल्लेख छ ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र पूर्वमा हात्तिखौवा, पश्चिममा कृष्ण मन्दिर, उत्तरमा आँखा अस्पताल र दक्षिण एअरपोर्टसम्म प्रतिबन्ध लगाएको छ ।

यस्तै घोराही उपमहानगरपालिका क्षेत्रमा झिगौरा चोक, प्रहरी बोर्डिङ स्कुलदेखि गोरखा बोर्डिङ स्कुल नजिकको कटुवा खोला पुल, मितेरी हस्पिटलदेखि रझेना स्कुलसम्म र ढोरेनी स्कुलदेखि सेवार खोलापुलसम्म प्रतिबन्ध लगाएको छ ।

लमही नगरपालिका क्षेत्रमा पूर्वमा अर्नवा, पश्चिममा अर्जुन खोला पुस्ता र दक्षिणमा कोलही पुलसम्म, राप्ती गाउँपालिका क्षेत्रमा प्रदेशसभा, मुख्यान्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्रमा प्रतिबन्ध लगाएको छ । यस्तै भालुबाङ बजार क्षेत्रभित्र, पश्चिममा गोपिनाल, पूर्वमा भालुवाङ पुलसम्म प्रतिबन्ध लगाइएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस