२०८२ माघ २५ गते आइतवार

प्रहरीलाई सूचना दिएर सहयोग गर्नुहोस् : डिएसपी पराजुली

दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुलीले लागुऔषध,जुवातास नियन्त्रण र नागरिकको शान्ति सुरक्षा नै पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

तुलसीपुरमा बिहिबारमात्रै सरुवा भएर आउनुभएका डिएसपी पराजुलीले शुक्रबार पत्रकारसंगको भेटघाट कार्यक्रममा तुलसीपुरलाई सुरक्षित बनाउनका लागि अपराधजन्य सूचना जतिसक्दो छिटो प्रहरीलाई दिएर सहयोग गर्न सम्पूर्णमा आग्रह गर्नुभएको छ ।

नागरिक पनि बिना बर्दीको प्रहरी भएकाले आम नागरिक र प्रहरीको समन्वयात्मक भूमिका बलियो बन्नुपर्ने बताउनुभयो । उहाँले नागरिकले सूचना नदिँदा प्रहरीमात्रै एक्लैलाई अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न चुनौति हुने बताउनुभयो ।

नागरिकले समयमै सूचना दिएमा अपराधिलाई नियन्त्रणमा ल्याउन सकिने र त्यसबाट समाजमा शान्ति सुरक्षा कायम हुने उहाँको भनाई छ ।

उहाँले पछिल्लो समय जेनजी आन्दोलनको क्रममा कतिपय प्रहरी जवानले ज्यान गुमाएको, प्रहरीका धेरै भौतिक संरचनामा क्षति पुगेकोले प्रहरीको मनोबल समेत कमजोर भएको बताउनुभयो । उहाँले अहिलेको उत्पन्न विषम परिस्थितिकाबिच नागरिकलाई शान्ति सुरक्षा दिनमा प्रहरी सधैँ तत्पर रहेको बताउनुभयो ।

उहाँले चाडपर्वलाई सुरक्षित बनाउनका लागि प्रहरीले विषेश सुरक्षा योजनासहित अघि बढेको बताउनुभयो । पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, नारायणी रजौरे, रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, गोरक्ष राष्ट्रिय दैनिकका बालाराम खड्का लगायतले अहिलेको विषम परिस्थितिमा नागरिकले सुरक्षाको अनुभूति हुने गरी काम गर्न सुझाव दिनुभयो । कार्यक्रमको सहजीकरण प्रहरी नायव निरीक्षक भरतनाथ योगीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस