२०८२ कार्तिक ३० गते आइतवार

तुलसीपुर कारागारबाट भागेकामध्ये १५५ जना कैदीबन्दी पक्राउ


तुलसीपुर । जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका कैदीबन्दी पक्राउ पर्ने क्रम जारी रहेको छ । हालसम्म कारागारबाट भागेका २५३ जनामध्ये १५५ जना कैदीबन्दी पक्राउ परेका छन् ।

१७ जना कैदीबन्दी जिल्ला बाहिरका विभिन्न कारागारमा रहेको कारागार प्रशासन प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिनुभयो । कारागार प्रशासन प्रमुख सेजुवालका अनुसार १७ जनामध्ये कैलाली कारागारमा ६ जना, रुपन्देहीमा ३, कपिलवस्तु कारागारमा ३, बर्दियामा १ प्युठानमा १, रोल्पामा ३ जना कैदी रहेका छन् ।

गएको भदौ २४ गते १२४ जना र २५ गते १२९ जना गरी कुल २५३ कैदीबन्दीले जेनजी आन्दोलनको क्रममा कारागारको सुरक्षा घेरा तोडेर भागेका थिए । भागेका २५३ जना मध्ये अझै ९८ जना सम्पर्कविहिन रहेका छन् । फरारहरुको खोजीकार्य भने जारी रहेको कारागार प्रशासनले जनाएको छ ।

फरार रहेका ९८ जनामध्येमा ४ जना कैद कट्टा गरेर घर फर्किएको प्रमुख सेजुवालले जानकारी दिनुभयो । कारागारमा अहिले ६ जना आश्रीत बालबालिका सहित ३५७ जना रहेको कारागार प्रशासनले जनाएको छ ।

यसैबिच कारागार कार्यालय तुलसीपुरले फरार रहेका कैदीबन्दीलाई जोखी गर्न कार्यदल गठन गरेको छ । गृह मन्त्रालयको असोज १० गतेको निर्णय अनुसार कारागारबाट फरार कैदी बन्दी खोजी तथा पक्राउ गर्न कार्यदल गठन भएको आज आइतबार जारी गरेको सूचनामा भनिएको छ ।

सोही निर्णय अनुसार आज आइतबार बसेको बैठकले गएको भदौ २४ र २५ गते कारागारको गेट तोडफोड गरी भागेका कैदी बन्दीहरुलाई असोज २० गतेसम्म काराकारमा फिर्ता हुन अनुरोध गरेको छ ।

सोही समयभित्र काराकारमा नफर्किएमा कारागार ऐन २०७९ र अन्य प्रचलित कानून बमोजिम कारबाही हुने कारागार प्रशासन प्रमुख सेजुवालले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस