
दाङ । जनचेतना अभिवृद्धि तथा आँखाको सुरक्षा र उपचारका लागि विश्व दृष्टि दिवसको अवसरमा विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको छ। नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत लमही आँखा अस्पतालले विश्व दृष्टि दिवस २०८२ को अवसरमा लमही नगरपालिका वडा नं. ४ मा एनएभीपी नर्वेको आर्थिक सहयोगमा निःशुल्क आँखा जाँच कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रम नेपाल नेत्रज्योति संघ दाङ शाखाका कार्यवाहक सभापति रेशमबहादुर खड्काको अध्यक्षता तथा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्य र उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले विश्व दृष्टि दिवसको औचित्य, नेपालमा दृष्टिविहीनताको अवस्था र कार्यक्रमको बारेमा प्रकाश पार्नुभयो।
कार्यक्रममा नगरप्रमुख चौधरी, उपप्रमुख योगी, वडा नं. ४ का वडा सदस्य उमाकान्त चौधरीलगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण नेपाल नेत्रज्योति संघ दाङकी कार्यसमिति सदस्य तथा लमही आँखा अस्पताल प्रशासनिक समितिकी संयोजक लिला शाहले गर्नुभएको थियो।
त्यस्तै, विश्व दृष्टि दिवस २०८२ को अवसरमा राप्ती आँखा अस्पतालले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रहरीका लागि निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम नेपाल नेत्रज्योति संघ दाङ शाखाका सहकोषाध्यक्ष प्रणवकुमार खड्काको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा इलाका प्रहरी तथा ट्राफिक प्रहरीका ६८ जना वरिष्ठ तथा कनिष्ठ अधिकृतहरूको आँखा परीक्षण गरिएको थियो।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका कार्यसमिति सदस्य यमप्रसाद शर्मा पाण्डे, राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक तथा संघका सदस्य ध्रुव गौतम, संघका सदस्य ताराप्रसाद पोखरेल, राप्ती आँखा अस्पतालका व्यवस्थापक शसि लामिछानेलगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत सालिकराम गौतमले विश्व दृष्टि दिवसको औचित्य र कार्यक्रमको बारेमा प्रकाश पार्नुभयो। एनएभीपी नर्वेको आर्थिक सहयोगमा सम्पन्न सो कार्यक्रममा आवश्यक नजिकको कामकाजका लागि चश्मा र औषधि निःशुल्क वितरण गरिएको थियो। बाह्य कार्यक्रम संयोजक विमल घिमीरे र रोहित कडायतसहितको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो।
त्यस्तै, विश्व दृष्टि दिवस २०८२ को अवसरमा नेपाल नेत्रज्योति संघ, छन्द (कलेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोग तथा एनएभीपी नर्वेको आर्थिक सहयोग र ईलाका प्रहरी कार्यालय कृष्णनगर, कपिलवस्तुको स्थानीय व्यवस्थापनमा पनि प्रहरीहरूको निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न गरिएको छ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ दाङ शाखाका आजीवन सदस्य एवं उद्योग वाणिज्य संघ, कृष्णनगर नगरपालिकाका वरिष्ठ उपाध्यक्ष नसरुल्लाह खानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ४४ जना प्रहरीको आँखा जाँच गरिएको थियो। दृष्टि विज्ञ सुजन रिजालका अनुसार, तीमध्ये ८ जनालाई नजिकको कामकाजका लागि चश्मा तथा आवश्यकताअनुसार औषधि वितरण गरिएको थियो।
कार्यक्रममा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्मा, बाह्य कार्यक्रम संयोजक हरी भण्डारीलगायतले शुभकामना व्यक्त गरेका थिए।
यसैबीच, नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत सञ्चालित विभिन्न आँखा अस्पताल तथा उपचार केन्द्रहरूले हालसम्म ४१ लाख ६२ हजारभन्दा बढीलाई आँखा उपचार सेवा र २ लाख ५० हजारभन्दा बढी मोतियाबिन्दुको शल्यक्रिया सेवा प्रदान गरेको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत सालिकराम गौतमले जानकारी दिनुभयो।
उनका अनुसार, राप्ती आँखा अस्पतालले साढे १२ लाख, छन्द कलेबाबु नारायणी आँखा अस्पतालले साढे ११ लाख र लमही आँखा अस्पतालले साढे ४ लाखभन्दा बढीलाई सेवा प्रदान गरेका छन् । साथै, ५ लाखभन्दा बढीलाई निःशुल्क शिविरमार्फत सेवा दिइएको र ४९ हजारभन्दा बढीको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरिएको पनि गौतमले बताउनुभयो ।