दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आगामी नेतृत्वका लागि आज उमेदवारी दर्ताको निर्वाचन कार्यतालिका छ ।
निर्वाचन समितिका संयोजक शान्तराज गौतमका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नाम दर्ता हुने छ । आजै साँझ ४ बजेसम्म उम्मेदवारहरुको नामावली छानबिन गरिने र पौने ५ बजेसम्म प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ ।
भोलि बिहान १० बजेदेखि सवा १२ बजेसम्म उम्मेदवारहरुको सूचीमा दाबीविरोध दर्ता गर्न सकिनेछ भने भोलि दिउँसो साढे १२ बजेदेखि २ बजेसम्म छानबिन गरिनेछ । भोलि साँझ ४ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ ।
असोज २९ गते साँझ पौने ५ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । त्यसपश्चात् सोही दिनदेखि असोज ३० गते राति १२ बजेसम्म चुनाव प्रचार–प्रसार गर्न पाउने निर्वाचन समितिले जनाएको छ ।
कार्यतालिका अनुसार असोज ३१ गते निर्वाचन हुनेछ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ । मतदान सकिएलगत्तै सोही दिन मतगणना गर्ने समितिको तयारी रहेको छ ।
निर्वाचनमार्फत चार वर्षे कार्यकालका लागि १३ सदस्यीय सञ्चालक समिति र तिन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरिनेछन् । निर्वाचन समितिले निर्वाचनलाई निष्पक्ष, पारदर्शी, स्वच्छ र भव्य ढंगले सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ ॥












