दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा एक वर्षको अबधिमा एक लाख बढीले सेवा लिएका छन् ।
अस्पतालको वार्षिक कार्यविवरण प्रस्तुत गर्दै अस्पतालबाट एक लाख बढीले स्वास्थ्य सेवा लिएको अस्पतालका व्यवस्थापक संगीता आचार्यले जानकारी गराउनुभयो । उहाँकाअनुसार अस्पतालबाट आर्थिक वर्ष २०८१/८२ मा एक लाख ३३ हजार ५२ जनाले सेवा लिएका छन् । अस्पतालले दाङ, सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका बिरामीलाई सेवा दिँदै आएको छ ।
अस्पतालमा हाल २२२ जना जनशक्ति कार्यरत रहेको व्यवस्थापक आचार्यले जानकारी दिनुभयो । अस्पतालको सेवा सूचक अनुसार आकस्मिक, बाहिरंगा र भर्ना भएका बिरामीको संख्या बढेको देखिएको छ ।
अस्पतालका प्रमुख सेवा सूचकहरूमा इमर्जेन्सी, बाहिरंगा (ओपीडी), सर्जिकल, मातृ तथा नवजात सेवा, ल्याब, एक्स–रे र डायलाइसिस सेवामा गत वर्ष सेवा लिनेको संख्या बढेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार अस्पतालले डायलाइसिस, एचडियु, मनोरोग, विशेष नवजात शिशु कक्ष लगायतका विशेषज्ञ सेवा विस्तार गरेको छ ।
साथै अलग बीमा फार्मेसी, र दूध खुवाउने काउन्टर सञ्चालन गरी सेवामा सुधार गरिएको छ । सामाजिक सेवा इकाई मार्फत समेत सेवा लिने बिरामीको संख्या उच्च रहेको प्रगति विवरणमा उल्लेख छ ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले तुलसीपुरमा डाइलाइसिस सेवा नहुँदा नागरिकहरु बाहिरी जिल्ला जानुपरेको बताउनुभयो । अस्पतालले नियमित रुपमा दिने सेवाको मेशिन नहुँदा विरामीहरुले दुख पाएको उहाँको भनाई छ ।

यस्तै उहाँले डाक्टरहरुले कम्तिमा २ बजेसम्म बिरामी जाँच गर्दा धेरैजसो बिरामीले पूर्ण सेवा पाउने बताउनु भयो । बिरामीलाई एक पटक जाँच गरेर त्यसको रिपोर्ट आउँदासम्म डाक्टरहरु अस्पतालमा नभेटिने र थप उपचारको लागि आफ्नै क्लिनिकमा बोलाउने प्रवृत्ति रहेको उहाँले बताउनु भयो । उहाँले कर्मचारीहरुलाई आफ्नो जिम्मेवारीप्रति जवाफदेहि भएर काम गर्न आग्रह गर्नुभयो ।
अस्पतालमा सेवा माग बढ्दै जाँदा उपलब्ध स्रोत–साधन पर्याप्त नहुँदा गुणस्तरमा असर पर्न सक्ने अस्पतालका प्रमुख डा. पद्मराज अधिकारीले बताउनुभयो । उहाँले अस्पतालमा नयाँ सेवा सुरु गर्नुभन्दा पनि भएको सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले अस्पतालको कमजोरी सुधार गदै जाने बताउनुभयो । अस्पतालका सकारात्मक कुरालाई बाहिर ल्याउने र नकारात्मक कुराहरुलाई अस्पतालको प्रशासन, अस्पताल विकास समिति र सम्बन्धित सरोकारवालाले छलफल गरी सुधार गर्नुपर्ने बताउनु भयो ।
अस्पताल ब्यबस्थापन बिकास समितिका अध्यक्ष पदम प्रसाद न्योपानेले जनशक्ति अभावका कारण सेवा दिन कठिन भइरहेको बताउनुभयो । प्रादेशिक अस्पताल बनेसँगै बिरामीको चाप बढेको भए पनि पर्याप्त जनशक्ति र अनुदान नपाउँदा प्रभावकारी सेवा दिन कठिन भइरहेको छ ।

आइसियु सेवा सञ्चालन नहुँदा समस्या भइरहेको र त्यसका लागि तयारी भइरहेको उहाँले बताउनुभयो । त्यस्तै अस्पतालको जग्गा व्यवस्थापन, सिटी–स्क्यान मेशिन मर्मत लगायतका विषयमा पनि ध्यान दिनुपर्ने बताउँदै न्यौपानेले कमजोरीहरू सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रममा जनस्वास्थ्य प्रवद्र्धन महाशाखाका प्रमुख ओम प्रकाश न्यौपाने, इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख महेश कुमार ओली, डा. हेमराज शर्मा, पत्रकार दिपक बोहोरा लगाएतकाले बोल्नुभएको थियो ।
अस्पतालका नर्सिङ प्रमुख नबिना कोइरालाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वरिष्ठ प्रशासकीय अधिकृत हुकुम बहादुर ओलीले गर्नुभएको हो ।
















