दाङ, ३० असोज । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीले शेयर सदस्यको गरिबी अन्त्य नै संस्थाको प्रमुख उद्देश्य रहेको बताउनुभएको छ । बिहिबार सपथ तथा पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष भण्डारीले अबको करिब १५ वर्षपछि सबै सदस्यको गरिबी अन्त्य गर्ने सपनासहित अघि बढेको बताउनुभयो ।
शेयर सदस्यको विश्वास, कर्मचारीको लगनशिलता र संचालक समितिको निस्वार्थ सेवाभावले संस्थाको उचाई बढ्दै गएको उहाँको भनाई छ । उहाँले संस्थाले अहिले १११ जनालाई प्रत्यक्षरुपमा रोजगारी प्रदान गरेको र १ हजार २ सयभन्दा बढीलाई स्वरोजगारी बनाएको बताउनुभयो । अध्यक्ष भण्डारीले एक महिनामा संस्थाको ३४ लाख बढी रकम नागरिकको घरमा गइरहेको बताउनुभयो ।
२०७६ पछि संस्थाले झनै गुणात्मक ढंगले प्रगति गरेको बताउँदै उहाँले आगामी २०८६ सालसम्ममा संस्थाको करिब १ अर्ब वासलात बनाउने योजनासहित अघि बढेको बताउनुभयो ।
यसैबिच नयाँ संचालक सदस्यले बिहिबार सपथ तथा पदभार ग्रहण गर्नुभएको छ ।

अध्यक्ष शुक्रराज भण्डारीसहित १३ जना संचालक समिति र लेखा सुपरिवेक्षण समितिका तीन जना गरी १६ जनालाई निर्वाचन समितिका संयोजक शान्तराज गौतमले सपथ ग्रहण गराउनुभएको हो ।
संचालक समितिका खुला उपाध्यक्ष कृष्णप्रसाद पोखरेल, महिला उपाध्यक्ष ममता बस्नेत, सचिव जीवराज अधिकारी, कोषाध्यक्ष दुर्गाप्रसाद भण्डारी, सहसचिव चिरञ्जीवी पौडेल सपथ ग्रहण तथा पदभार ग्रहण गर्नुभएको हो ।
यस्तै खुला सदस्य गोविन्दराज भण्डारी, खेतुप्रसाद भण्डारी र खेन्टु गीरी, महिला सदस्यमा गंगा घिमिरे बोहरा, बिमला खड्का, शान्ता खनाल र शारदा सुनारले पनि सपथ ग्रहण तथा पदभार ग्रहण गर्नुभएको हो ।
यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजक शरद शर्मा, सदस्यमा बोधप्रसाद खनाल र केशव बहादुर बस्नेतले सपथ ग्रहण तथा पदभार ग्रहण गर्नुभएको हो । नयाँ संचालक समिति र लेखा सुपरिवेक्षण समितिका संयोजक र सदस्यलाई सपथ ग्रहणसंगै प्रमाणपत्र समेत वितरण गरिएको छ ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका निवर्तमान संयोजक सुर्यप्रसाद शर्मा, निवर्तमान सल्लाहकार रामबहादुर वली, नारायणप्रसाद भण्डारी, ढुण्डीराज खनाल, हाम्रो पहुँच सेकेन्डरी स्कुलका प्रधानाध्यापक डिआर भण्डारी, शेयर सदस्य इश्वरा पौडेल, रेशम रावत लगायतले नवनिर्वाचित संचालक समितिलाई बधाई तथा शुभकामना प्रदान गर्नुभएको हो ।
संस्थाका निवर्तमान उपाध्यक्ष बुद्धिराम बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गर्नुभएको हो । त्यस अवसरमा १९ औँ साधारण सभाका प्रस्तावहरु एकाई प्रतिनिधिबाट परित गरिएको छ ।










