दाङ । तिहार नजिकिदै गर्दा सयपत्री फूलको व्यापार बढ्न थालेको छ । तिहारमा भारतीय प्लाष्टिकका माला विस्थापित गर्ने गरी दाङमा पनि धेरै ठाउँमा फूलखेती गरिएको छ । तुलसीपुर–८ अश्वारामा पनि यसवर्षको तिहारलाई लक्षित गरेर करिब सात कठ्ठा बारीमा फूलखेती गरिएको छ । बारीमा ढकमक्क फुलेका सयपत्री फूलले तिहारको रौनकता झल्काउन थालेको छ ।

फूलखेती उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएको ग्रीन फाउण्डेशन नेपालको दाङले अश्वारामा फूलखेती गरेको हो । फाउण्डेशनले विगतका वर्षदेखि नै फूलखेती गरेर यो क्षेत्रमा हुने फूल आयात न्यूनीकरणमा भूमिका खेल्दै आएको फाउण्डेशनका बजार व्यवस्थापक गणेश भण्डारीले बताउनुभयो ।
अपेक्षाकृत ढंगले फूल उत्पादन भएको र विगतको तुलनामा यो वर्ष बजारीकरणमा समस्या नभएका कारण राम्रो आम्दानी गर्न सकिने उहाँको अपेक्षा छ । भण्डारी आफैले विगतमा पनि व्यक्तिगतरुपमा फूल खेती गर्दै आउनुभएको थियो । फूलखेतीमा हालसम्म एक लाख ५० हजार लगानी गरिसकेको उहाँले बताउनुभयो ।
फूलखेतीबाट छोटो समयमै लगानीका आधारमा तीन गुणासम्म आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । फूलखेती गर्नेहरुले अहिले बजारमा फूल माग हुँदा चार सय ५० देखि ५ सय रुपैयाँ किलो तथा न्यूनतम १ सय २० रुपैयाँ प्रतिगोटाका दरले माला बेचिरहेको व्यवस्थापक भण्डारीले बताउनुभयो ।
तिहार नजिकिएसँगै फूलखेती गरिरहेका व्यवसायीसँग छिट्टै छलफल गरेर व्यवसायीलाई मुनाफा हुने तथा उपभोक्तालाई मर्का नपर्ने गरी फूलको मूल्य निर्धारण गरिने तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताउनुभयो ।












