२०८३ बैशाख ५ गते शनिवार

महसुल विवाद रहेका थप १८ वटा उद्योगको लाइन काटियो


दाङ । ट्रंक तथा डेडिकेटेड लाइनको महसुल विवाद नसुल्झिएपछि नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले शुक्रवार साँझ ती उद्योगहरूको लाइन काटेको हो ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, सरकारी स्वामित्वका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टबाहेक विवाद कायम रहेका सबै उद्योगको लाइन काटिएको छ । यसअघि लक्ष्मी पूजाको भोलिपल्ट जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्स गरी ६ वटा उद्योगको लाइन काटिएको थियो ।

प्राधिकरणले बाँकी उद्योगहरूलाई तत्काल महसुलको पहिलो किस्ता बुझाउन चेतावनी दिएको थियो । तर, उनीहरू किस्ता तिर्न नआएपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

अहिले विवाद रहेकामध्ये १४ वटा उद्योगले महसुलको पहिलो किस्ता बुझाएका छन् । यस्तै, डाबर नेपाल र सुदूरपश्चिम हवाई कार्यालयले यसअघि बुझाएको धरौटी रकम किस्ता तिर्न पर्याप्त भएकाले उनीहरूको लाइन काटिएको छैन ।

यसैगरी, अरिहन्त मल्टिफाइबर, रघुपति जुट मिल, बाबा जुट मिल, युनाइटेड सिमेन्ट प्रालि, मारुती सिमेन्ट र पोलिप्याक्स गरी ६ वटा उद्योग अदालत गएकाले अदालतको आदेशअनुसार उनीहरूको लाइन पनि काटिएको छैन । बाँकी सबैको लाइन काटिएको प्रवक्ता ढकालले बताउनुभयो ।

असोज १० गते बसेको प्राधिकरण सञ्चालक समिति बैठकले विवादित महसुल उठाउने निर्णय गरेपछि प्राधिकरणले उद्योगहरूलाई असोज २ गतेसम्मको समय दिएको थियो । तर, उद्योगीहरूले प्राधिकरणले तोकेको महसुल अन्यायपूर्ण भएको भन्दै नतिर्ने घोषणा गर्दै आएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस