२०८३ जेष्ठ ३० गते शनिवार

सडकका खाल्डाखुल्डी पुर्न नागरिक अभियान


दाङ । तुलसीपुरको मुख्य सडक खण्डमा रहेका ठूला र जोखिमपूर्ण खाल्डाखुल्दीहरू नागरिक स्तरको सक्रियतामा पुरिएको छ । ‘हाम्रो नेपाल हामी नेपाली अभियान’, को समन्वय तथा जय जीव दर्शन र ‘शिवसेना नेपाल’ को संयुक्त आयोजना एवं नेपाल ट्राफिक प्रहरीको विशेष सहकार्यमा शनिबार घोराही चोक आसपासका मुख्य सडकका खाल्टापुर्ने कार्य सम्पन्न भएको हो ।

सडकको जीर्ण अवस्थाका कारण दैनिक रूपमा बढ्दै गएको दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै नागरिकहरूको सुरक्षाका लागि यो कदम चालिएको अभियन्ताहरूले बताएका छन् । मुख्य बजार क्षेत्रकै सडकमा रहेका ठूला खाल्डाखुल्डीले सवारी आवतजावतमा सास्ती हुनुका साथै गम्भीर दुर्घटनाको भय रहेकाले स्वैच्छिक रूपमा श्रमदान गरी खाल्डाहरू पुरिएको अभियान्ता उपेन्द्र पौडेलले बताउनुभयो ।

सडक मर्मत तथा खाल्टा पुर्ने कार्यको सुरुवात धार्मिक गुरु वासुदेव भुसालले स्वस्ती वाचन गरी शास्त्रोक्त विधिबाट गर्नुभएको थियो । अभियन्ताहरू सडकमा खटिएर श्रमदान गरिरहँदा स्थानीय व्यवसायीहरूले पनि उत्साहजनक साथ र समर्थन जनाएका थिए ।

अत्यधिक गर्मीको प्रवाह नगरी सडक सुरक्षित बनाउन खटिएका अभियन्ताहरूलाई प्रोत्साहन र स्वागत गर्न स्थानीय आमा डेरी तुलसीपुरका सञ्चालकले स्वस्फूर्त रूपमा चिसो पानी र लस्सीले स्वागत गर्नुभएको थियो ।

सडकको दुरावस्थाप्रति सरकारी निकाय उदासीन देखिइरहेका बेला नागरिक स्तर र ट्राफिक प्रहरीको यो सहकार्यले सम्भावित ठूला सवारी दुर्घटनाहरू रोक्न र सहरी यात्रालाई केही सहज बनाउन ठूलो मद्दत पुग्ने उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस