दाङ । तुलसीपुर उपमहानगरपालिका–३ दमारगाँउमा स्वास्थ्य शिविर तथा चंगाईसभा सम्पन्न भएको छ । आज आईतबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य शिविर तथा चंगाई सभा भएको हो ।
दमारगाँउ चर्चका पास्टर टोपबहादुर महतराको अध्यक्षता तथा वडा नम्बर ३ का अध्यक्ष बिरबहादुर बिकको प्रमुख आतिथ्यतामा चंगाईसभा भएको हो ।

सो अवसरमा प्रमुख अतिथि बिकले नेपालमा विभिन्न धर्म मान्ने मानिसहरुको बसोबार भएपनि ईसाइ समुदायलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउनुभयो । यसलाई चिर्न स्वयम समुदाय नै लाग्नुपर्ने उहाँको भनाई छ । ईसाइधर्म मान्नेहरुलाई बिदेशी डलरको खेति गरेको आरोप आउने गरेको छ, त्यसको वास्तबिकता ईसाइ समुदायले नै बुझाउन आबश्यक रहेको बताउनुभयो । धर्म कुनै पनि गलत नरहेकाले कर्म सही गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष बिकले दाङ जिल्लामै पहिलो पटक चर्चलाई आधिकारीक रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने वडाका रुपमा आफुलाई स्थापित गरेको बताउनुभयो । मृत्यु संस्कारका लागि दफनस्थल निर्माण गर्न जग्गा खरिदका लागि कार्यपालिकाको बैठकबाट निर्णय गराई पाँच लाख रुपैंया विनियोजन गरेको जानकारी दिनुभयो ।
यस्तै पास्टर महतराले मृत्यु संस्कारका लागि दफनस्थल निर्माण गर्न जग्गाको व्यवस्थापन भएपनि सो स्थान पर्याप्त नभएकाले थप व्यवस्थापनका लागि स्थानीय सरकारले सहजिकरण गर्नुपर्ने बताउनुभयो ।
सभामा पास्टरहरु बोनी तामाङ, दानियल तिरुवा, डा. प्रकाश शाहु, जीवन गुरुङ, गंगाराम डाँगी, जीएल नेपाली, नरबहादुर शाह, खिम शाहु लगाएतकाले बोल्नुभएको थियो । चंगाईसभामा आध्यात्मीक स्वास्थ्थ शिविर पनि सञ्चालन भएको थियो ।
पास्टर नवराज डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको सभाको सहजीकरण दिलिप ताम्राकारले गर्नुभएको हो । सभामा दाङ जिल्लाका एक हजारबढी ईसाइ समुदायको सहभागिता रहेको थियो ।










