दाङ । जिल्ला प्रशासन कार्यालय दाङले चालु आर्थिक वर्षको तिन महिनामा १ करोड बढी राजस्व संकलन गरेको छ । चालु वर्षको साउनदेखि असोज मसान्तसम्म १ करोड ३ लाख ९९ हजार ५५ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको हो ।
कार्यालयका लेखापाल केशव न्यौपानेका अनुसार सबैभन्दा बढी राहदानी शुल्क वाफत राजश्व संकलन भएको छ । राहदानी शुल्क वाफत ९७ लाख ४७ हजार ५०५ रुपैयाँ संकलन भएको उहाँले जानकारी दिनुभयो । यस्तै जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने संघसंस्थाको दर्ता नविकरण गरेर ६३ हजार, प्रत्येक वर्ष नविकरण गर्नुपर्ने हातहतियार इजाजतपत्र नविकरणबाट ४ लाख २७ हजार ७५०, विभिन्न सार्वजनिक मुद्धाको छिनोफानो वाफत न्यायिक दण्ड, जरिवाना तथा जफतबाट १ लाख ३९ हजार ४ सय रुपैयाँ र विभिन्न प्रशासनिक सेवा शुल्क वाफत २२ हजार रुपैंया राजश्व संकलन भएको तथ्याङकले देखाएको छ ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका कारण केही समयसम्म सेवा रोकिएकोले गत वर्षको तुलनामा करिब १० लाख राजश्व संकलनमा कमी आएको लेखापाल न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै कार्यालयले विभिन्न समयमा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको मृत्यु भएको परिवारलाई १३ लाख बढी रकम प्रदान गरेको छ । तिन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ५ जनाका परिवारलाई १३ लाख ११ हजार ७१ रुपैयाँ उपलब्ध गराएको कार्यालयले जनाएको हो ।
वैदेशिक रोजगारीमा गएका साउदी, दुबइ, कतारलगाएतका देशमा मृत्यु भएका व्यक्तिलाई कम्पनीबाट प्राप्त रकम उनिहरुको परिवारलाई उपलब्ध गराइएको न्यौपानेले बताउनुभयो ।
यस्तै १४ जना प्रकोप पिडितलाई राहात वितरण वाफत २ लाख ४० हजार रुपैयाँ राहतस्वरूप प्रदान गरिएको कार्यालयले जनाएको छ । आगलागी, चट्याङ, हावाहुरी लगायतका विपद्का घटनाबाट प्रभावित १४ जनालाई उक्त रकम राहतस्वरूप प्रदान गरिएको कार्यालयले जनाएको छ ।
















