तुलसीपुर । शुभारम्भ साना किसान कृषि सहकारी संस्थाको १२ औं साधारण सभा भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ बम्नैमा रहेको संस्थाले आज (शनिबार) १२ औं साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष कविता शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका–७ का अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यता तथा नेपाल कृर्षि सहकारी केन्द्रिय संघ लेखा समिति सदस्य चिरञ्जीवि केसीको विशिष्ट आतिथ्यतामा साधारण सभाको उद्घाटन कार्यक्रम भएको हो ।
त्यस अवसरमा वडा अध्यक्ष जिसीले सहकारीमार्फत सदस्यहरूलाई आत्मनिर्भर बन्नुपर्ने धारणा राख्नुभयो । आर्थिक समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै महिलाहरुले नेतृत्व गरेर सहकारी मार्फत आर्थीक सशक्तीकरणमा उल्लेखनीय भूमिका निवार्ह गरेकोमा आभार व्यक्त गर्नुभयो ।
थोरै पूँजीबाट सदस्यहरूलाई आबद्ध गराई सहकारीमार्फत आर्थिक रूपमा सक्षम बनाउन सहकारीले उल्लेख्य भूमिका खेलेकाले स्थानीयको सहकारीप्रति आकर्षण बढेको उहाँको भनाई छ । तर संस्थालाई थप बलियो बनाउन सदस्यहरू नै चनाखो हुनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै नेपाल कृर्षि सहकारी केन्द्रिय संघ लेखा समिति सदस्य केसीले वचत गरेर मात्रै धनी बन्न सकिन्छ भन्ने सन्देश सबै सदस्यका घर–घरमा पुर्याउनुपर्ने बताउनुभयो । सदस्यहरूको क्रियाशीलता नै सहकारीको उन्नति र प्रगतिका लागि महत्वपूर्ण रहेको र उद्यमशीलतासँगै आर्थिक समृद्धिमा सदस्यहरूको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा सञ्चालक समिति सदस्य मिना आचार्य,लेखा सुपरिवेक्षण समिति सदस्य इन्दिरा भट्टराइ, शेयर सदस्यहरु कमल भुषाल, ईश्वरी प्रसाद पौडेल, तिर्थ बहादुर खत्री, कमला भुषाल, बेलमती घर्ती लगाएलते ग्रामिण भेगमा रहेका निम्नवर्गीय परिवारहरूले पनि सानो–सानो पूँजीबाट सहकारीमा जोडिएर अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको बताएका थिए ।
यसैबिच संस्थाले विभिन्न व्यक्तीहरुलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिक सम्मानतर्फ भिक्षा चौधरी, देवि न्यौपाने, काले पुन र जयन्तीदेवी वलीलाई सम्मान गरिएको हो । यस्तै उत्कृष्ट वाल बचततर्फ उत्कृष्ट शर्मा, मुनालिसा चौधरी र सुरक्षा चौधरीलाई सम्मान गरिएको हो । यस्तै उत्कृष्ट कृषक सम्मानतर्फ रुपा चौधरी, देवका रावत र अन्जु शर्मा, ग्रामिण उद्यमशिलता कर्जा तर्फ मिन बहादुर रानालाई सम्मानीत गरिएको छ । यस्तै चट्याङ पिडित परिवार तुलसीपुर–७ घुसेरीका सिता पौडेललाई नगद १५ हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
संस्थाले सदस्यहरूलाई उद्यमी भई पशुपालन तथा कृषि व्यवसायमा संलग्न सदस्य,नियमित वचतकर्ता,बाल वचत,ज्येष्ठ नागरिरक तथा कारोवारका आधारमा उत्कृष्ट कारोवारी सदस्यहरुलाई प्रोत्साहनस्वरूप बाल्टी ,फरुवा,स्प्रे ट्याङ्की,व्याग लगाएतका सामाग्रीसहित सम्मानित गरेको संस्थाका प्रबन्धक अमृता शर्माले जानकारी दिनुभयो ।
संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष कविता शर्मा, आर्थिक प्रतिवेदन प्रबन्धक अमृता शर्मा र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक गिरीजा अधिकारीले प्रस्तुत गर्नुभएको थियो । संचालक समिति सदस्य टिका कुमारी पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको सभाको सहजीकरण डुविन्द्रराज केसीले गर्नुभएको होे ।
२०७१ सालमा स्थापना भएको संस्थामा हाल ८ सय ४३ शेयर सदस्य रहेका छन् । साविकको हलवार (तुलसीपुर–७ र ४) मा कार्यक्षेत्र रहेको संस्थाले नियमित बचत तथा विभिन्न शीर्षकमा वचत,कर्जा लगानी, उद्यमशिलता कार्यक्रम तथा रासायनिक मलको कारोवार गर्दै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा सहकारीले ९ करोडभन्दा बढी रकमको कारोबार गरेको छ ।












