२०८२ मङ्सिर २१ गते आइतवार

गुरुजजुर माविमा विद्यार्थीको आँखा निःशुल्क जाँच


तुलसीपुर । तुलसीपुरमा विद्यार्थीको आँखा निशुल्करुपमा जाँच गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–४ मा रहेको गुरुजजुर माध्यामिक विद्यालय रक्षाचौरमा अध्ययनरत विद्यार्थीको आँखा जाँच निशुल्क भएको हो ।

विद्यालयको आयोजना तथा नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा एन.ए.वी.पी नर्वेको आर्थिक सहयोगमा निःशुल्क आँखा जाँच भएको हो ।

कार्यक्रममा एक हजार ६ सय बढी विद्यार्थीहरुको आँखा जाँच गरिएको छ । विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी केसीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य ताराप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको आँखा जाँच कार्यक्रममा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेले जानकारी दिनुभयो ।

विद्यालयको नियमित वार्षिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको आँखा जाँच कार्यक्रम भएको उहाँले बताउनुभयो । आँखा जाँच कार्यक्रममा चश्मा प्रयोग गर्नुपर्ने विद्यार्थीहरुलाई निःशुल्क चश्मा उपलव्ध गराउने आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका वरिष्ठ अनुगमन तथा मूल्याङकन अधिकृत सालिकराम गौतमले जानकारी दिनुभयो ।

त्यस्तै अन्य आँखाको समस्या भएका विद्यार्थीहरुलाई निःशुल्क औषधी आवश्यताका अनुसार वितरण गरिएको थियो भने आँखामा थप समस्या भएका विरामीहरुलाई अस्पतालमा रिफर गरिएको थियो ।

यसैबिच बबई गाउँपालिका विभिन्न वडाहरुमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २१६ जनाको आँखा जाँच गरिएकोमा ५१ जना जना मोतियाविन्दुका बिरामीहरु फेला परेका छन् ।

त्यस्तै वडा नम्बर ६ मा भएको कार्यक्रममा १२५ जनाको आँखा जाँच गर्दा ३७ जना मोतियाविन्दुका बिरामीहरु फेला परेका छन् भने बबई ४ मा १८० जनाको आँखा जाँच गरिएकोमा २६ जना मोतियाविन्दुका विरामीहरु फेला परेका थिए । शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई राप्ती आँखा अस्पतालमा शल्यक्रियाका लागि रिफर गरिएको छ । उनीहरुको एन.ए.वी.पी नर्वेको आर्थिक सहयोगमा शल्यक्रिया गरिने अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस