२०८३ बैशाख ११ गते शुक्रवार

कपुरकोट गाउँपालिकाले नागरिकलाई श्रममा जोड्दै

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले सुरुवात गरेको श्रम अभियानमा श्रमदाताहरुको आकर्षण बढ्न थालेको छ । गाउँपालिकाले सबै वडामा श्रममा आधारित योजना कार्यान्वयनमा लिन सुरु गरे पछि श्रमदाताहरुको आकर्षण बढ्न थालेको हो ।

गाउँ सामाजको आवश्यकता अनुसार टोल बिकास संस्थाको माग र वडा कार्यालयहरुको सिफारिस अनुसार यस आर्थिक बर्षमा १८ लाख बजेट बिनियोजन गरी पालिकाभर श्रममा आधारित कम्तीमा १० वटा योजना सम्पन्न गर्ने लक्ष्य गाउँपालिकाको रहेको छ ।

श्रममा आधारित योजना अन्तर्गत बाटोको सल्याब निर्माण,सिंचाई कुलो,बिद्यालयका पर्खाल तथा गेट,खानेपानी ट्याङकी धारा लगायतका काम गरिने गाउँपालिकाले जनाएको छ ।

श्रम अभियानको औपचारिक सुरुवात गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले पालिकाका नागरिकहरुमा श्रम संस्कृतिको बिकास गराई थोरै बजेटमा धेरै काम गर्नु रहेको बताउनु भयो । नागरिकहरुले श्रम गर्दा श्रममा आधारित योजनाको नागरिकमा अपनत्वबोध हुने र संरक्षण हुने पुनको भनाई छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले गाउँपालिकाको आर्थिक बर्ष २०८२।०८३ को निति तथा कार्यक्रम अनुसार श्रम अभियान संचालन गरेको बताउनु भयो । उँहाले श्रम अभियान अन्तर्गतको योजना कार्यान्वयनका लागि पालिकाबाट सामाग्री खरिद गरेर उपलब्ध गराइने भएको हुंदा श्रम गर्न चाहाने जो कोही पनि प्रतिनिधिमुलक रुपमा श्रम अभियानमा जोडिन सक्ने बताउनु भयो ।

पालिकाले यस बर्ष श्रम अभियान मार्फत वडा नं.१ को सारपानी आधारभूत स्वास्थ्य इकाई, दहबन बजारको सडक सल्याब निर्माण गर्दैछ । यस्तै वडा नं.२ को गर्पा स्वास्थ्य चौकी र खहरे सडक सल्याब, वडा नं.३ को मुलपानी तरकारी संकलन केन्द्र टहरा निर्माण,कालिका मन्दिरमा प्रतिक्षालय निर्माण वडा नं.४ मा घंघारीचौर पर्यटन सिंढि निर्माण, वडा नं.५ मा लेक सल्लाम बगाले जोड्ने सडकको सल्याब निर्माण तथा वडा नं.६ मा सातामुल बराह क्षेत्रमा चमेना गृह लगायतका काम गर्न लागेको योजना शाखा प्रमुख नेत्र नारायण भण्डारीले जानकारी दिनुभयो ।

वडा नं.१ को सारपानी आधारभूत स्वास्थ्य इकाईबाट सुरु गरिएको श्रम अभियानमा प्राबिधिक लागत अनुमान अनुसार टोल बस्तीमा रहेका योजना गुणस्तरीय रुपमा कार्यान्वयन हुने गरी कामलाई अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस