दाङ । राप्ती लाइफ केयर अस्पताल तुलसीपुरले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा रहेको अस्पतालले धनन्जय गोत्रिय भण्डारी समाजको कुलपूजाको अवसरमा आज शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
उक्त शिविरमा विभिन्न व्यक्तिलाई स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका इमरजेन्सी इन्चार्ज तुलराज बरालका अनुसार शिविरमा २५० जनाभन्दा बढीले सुगर र उच्च रक्तचापको परीक्षण गराएका थिए । परीक्षण गराएकामध्ये धेरैजसोमा चिनीको मात्रा असन्तुलित हुने समस्या देखिएको उहाँले बताउनुभयो ।
यस्तै स्वास्थ्य शिविरमा विभिन्न चोटपटक लागेका व्यक्तिहरुका साना तथा ठुला घाउँ सफा गरिएको थियो । समस्या देखिएकालाई अस्पतालले निःशुल्क रुपमा औषधी वितरण गरेको जनाएको छ । स्थानीयबासीलाई एकै ठाउँमा स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरेको अस्पतालले जनाएको छ ।
राप्ती लाइफ केयर अस्पतालले समय–समयमा गाउँबस्तीमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।












