दाङ, १६ मंसिर ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी यज्ञ बहादुर विक र उहाँको धर्मपत्नी सीता घिमिरे बिकलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ । तुलसीपुर–७ मा रहेको मेरीगोल्ड इंगलिस बोर्डिङ स्कुलले अन्तराष्ट्रिय अपांगता दिवसको अवसर पारेर मंगलबार विक दम्पतिलाई सम्मान गरेको हो ।
विद्यालयले अपांगता भएको बालबालिकाको हेरचाह, संरक्षण, समावेशिता प्रवद्र्धन र समाजमा सकारात्मक भूमिका खेलेको भन्दै विक दम्पतिलाई सम्मान गरेको हो । विद्यालयले दिवसको अवसरमा तुलसीपुर अपांगता अध्ययन केन्द्रका बालबालिकाका लागि खाद्यान्नका सामग्री सहयोग गरेको हो ।
विद्यालयले दाल, चामल, तेल लगायतका खाद्यान्नका सामग्री सहयोग गरेको प्रधानाध्यापक बासुदेव रिजालले बताउनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले विद्यालयले देखाएको सामाजिक कार्यको प्रशंसा गर्नुभयो । कार्यक्रममा मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझा, वडा अध्यक्ष जिसी लगायतका सहभागी रहनुभएको थियो ।
विद्यालय परिवारप्रति सम्मानित हुने विक दम्पतिले धन्यवाद ज्ञापन गरेको छ ।















