२०८२ मङ्सिर २२ गते सोमवार

न्युनतम सेवा सुधारमा राप्ती प्रादेशिक अस्पतालले पायो ८८ अंक

दाङ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले न्युनतम सेवा सुधार मूल्यांकनमा ८८ अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको मूल्यांकनमा राप्ती प्रादेशिक अस्पतालले ८८ अंक प्राप्त गरेको हो ।

अस्पतालले गतवर्ष पनि ८८ अंक प्राप्त गरेकोमा यस वर्ष पनि सोहि अंक कायम गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताउनुभयो ।

अस्पतालले संगठनात्मक व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, वित्तीय व्यवस्थापन, सूचना तथा अभिलेख व्यवस्थापन, बिरामीको गुनासो सुन्ने र समाधान गर्ने व्यवस्थापन, सरसफाई व्यवस्थापन लगायतका आधारमा ८८ अंक प्राप्त गरेको हो ।

अस्पतालले ८८ अंक प्राप्त गर्नु भनेको अति उत्तम श्रेणी हो । न्युनतम सेवा सुधार मापदण्डको मुख्य उद्देश्य भनेको अस्पतालमा सेवाको तयारी र गुणस्तरमा सुधार ल्याउनु हो । अस्पतालमा अहिले दैनिक ७ सय बढीले सेवा लिने गरेका छन् ।

अस्पताललाई २ सय बेडमा संचालन गर्नका लागि आवश्यक प्रक्रिया थालेपनि अझैसम्म सार्थकता पाउन नसकेको मेसु अधिकारीले बताउनुभयो । अस्पतालले सेवा सुधारमा १०० अंक पाउनुपर्ने भएपनि कम हुन गएको तर सुधारोन्मुख भने रहेको उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा सुधार गर्दै लैजाने बताउनुभयो ।

अस्पतालको मंगलबार अनुगमन र बुधबार मूल्यांकन समिक्षा गरिएको छ । बुधबार गरिएको समिक्षा कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा हस्पिटल मेनेजर संगिता आचार्यले अस्पतालको सेवा प्रवाह, जनशक्ति व्यवस्थापन, सेवाग्राहीको अवस्था लगायतको विवरण प्रस्तुत गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस