२०८२ माघ ७ गते बुधवार

मुक्त कम्लहरी विकास मञ्चको केन्द्रीय अध्यक्षमा सुमिता चौधरी निर्वाचित


दाङ । मुक्त कम्लहरी विकास मञ्चको केन्द्रीय अध्यक्षमा बाँकेकी सुमिता चौधरी निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न मतदानमा सुमिताले २०९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी, निवर्तमान अध्यक्ष हिरामोती चौधरीले १५२ मत र अर्की प्रत्याशी निर्मला चौधरीले ७८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रामशरण चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्षसहितका पदाधिकारीहरूमा सहमति नजुटेपछि निर्वाचनमार्फत पदाधिकारी चयन गरिएको हो । त्यस्तै, उपाध्यक्षमा दाङका विष्णुकुमारी चौधरी ३०९ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी रुपनी चौधरीले १२२ मत प्राप्त गर्नुभएको थियो ।

सचिवमा कैलालीका लक्ष्मी चौधरी निर्वाचित हुनुभएको छ । उहाँले २११ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी लक्ष्मी रानाले १११ र सरस्वती चौधरीले ९९ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, कोषाध्यक्षमा दाङका सुशीला चौधरी २७८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सोना कुमालले १३९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चौधरीले जानकारी दिनुभयो ।

यसैगरी, मञ्चका सदस्यहरूमा सीता चौधरी (दाङ), शितल चौधरी (कैलाली), गीता चौधरी (कैलाली), मिरा चौधरी (बर्दिया), निशा चौधरी (बर्दिया), गीता चौधरी (कञ्चनपुर) र गीता थारू (बाँके) निर्विरोध निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो । मञ्चको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा जिल्ला शाखा रहेको छ । पाँचै जिल्लावाट आएका ४५६ जना प्रतिनिधिहरूले नयाँ नेतृत्वका लागि मतदान गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस