दाङ। जिल्ला सहकारी संघ लिमिटेड दाङले शनिबार ३३ औँ वार्षिक साधारणसभा गरेको छ । संघका अध्यक्ष हेमराज गोैतमको अध्यक्षतामा शुरू भएको साधारणसभाको संघका पुर्व अध्यक्ष डिल्ली बहादुर खड्काले उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा प्रशिक्षणात्मक मन्तब्य राख्दै खड्काले देशको विकासमा सहकारीको विकल्प नरहेको बताउदै सहकारीको चौथो सिद्धान्त स्वायत्तता र स्वतन्त्रता माथि राज्यबाट हस्ताक्षप बढ्दै गएकोप्रति खबरदारी गर्नुभयो ।
सहकारी संस्था सदस्यहरूको संस्था भएको बताउदै उहाँले सहकारीको दोश्रो सिद्धान्त सदस्यहरूको प्रजातान्त्रिक नियन्त्रण र स्वशासनको पक्षमा सहकारी क्षेत्रको भुमिका कमजोर भएका कारण सहकारी संस्थामाथि बाह्र हस्तक्षेप बढेकोले सहकारी संस्थाहरू सिद्धान्तप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
पुर्व अध्यक्ष डिल्ली बहादुर खड्काले विगतको स्मरण गर्दै जिल्ला सहकारी संघ लिमिटेड दाङको उच्च रूपमा विकास भएकोमा खुसि प्रकट गर्नुभयो ।
साधारणसभामा लुम्बिनी प्रदेश सहकारी संघका सचिव रूप बहादुर खत्री, जिल्ला कृषि सहकारी संघ दाङका अध्यक्ष पद्ममा आचार्य र सल्लाहकार सुरेन्द्र बहादुर खड्काले प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियोे ।
संघका उपाध्यक्ष सरस्वता गोैतमको स्वागत मन्तव्य र महासचिव शुक्रराज भण्डारीले सञ्चालन गर्नु भएको ३३ औँ वार्षिक साधारणसभाले आर्थिक बर्ष २०८२/०८३ का लागि संघको संचालन समितिको तर्फबाट महासचिव शुक्रराज भण्डारीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम, कोषाध्यक्ष हरी प्रसाद भुसालद्धारा प्रस्तुत बजेट, लेखा सुपरिवेक्षण समितिका संयोजक होमलाल भुसालद्वारा प्रस्तुत प्रतिवेदन लगायतका प्रस्तुत कार्यसूची उपर सदस्य संस्थाका प्रतिनिधिहरूको सुझाव समेटदै पारित गरेको छ ।















