२०८२ माघ ७ गते बुधवार

५० बढी महिला गर्भवती भएपछि केक काटेर उत्सव


दाङ । दाङमा ५० भन्दा बढी महिला गर्भवती भएपछि अस्पतालले केक काटेर उत्सव मनाएको छ । घोराहीमा सञ्चालनमा रहेको शिशु निसन्तानपन उपचार केन्द्रमा उपचाररत ५७ जना महिलाहरू गर्भवती भएपछि केन्द्रले आज (बुधवार) गर्भवती उत्सव कार्यक्रम आयोजना गरी खुसी साटासाट गरेको हो ।

पछिल्लो १० महिनाको अवधिमा दाङसहित विभिन्न जिल्लाबाट निसन्तानपनसम्बन्धी समस्या लिएर आएका दम्पतीहरूमध्ये गर्भवती भएका महिला तथा उनीहरूका परिवारलाई सहभागी गराई उत्सव कार्यक्रम गरिएको केन्द्रले जनाएको छ ।

९ वर्षअघि विवाह गरेका दाङका मिनोज गुरुङले सन्तान प्राप्तिको अन्तिम चरणमा आइपुग्दा खुसी साट्न पाउँदा अत्यन्तै हर्षित भएको बताउनुभयो । विगतमा जिल्ला बाहिर गएर लाखौँ रुपैयाँ खर्च गर्दा पनि सन्तान प्राप्ति नभएपछि निराश भएको बेला यही केन्द्रमा उपचारपछि सफल भएको खबर बाँड्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयोे ।

निसन्तानपनका विभिन्न कारणहरूमध्ये महिला तथा पुरुष दुवै ढिला विवाह गर्ने समस्या सबैभन्दा बढी देखिने गरेको अस्पतालका महिला तथा निसन्तानपन रोग विशेषज्ञ डाक्टर रोशनी केसीले जानकारी दिनुभयो । सामान्यतया यस्ता अवस्थामा श्रीमान–श्रीमती दुवैमा समस्या देखिने गरेको उहाँको भनाइ छ ।

त्यस बाहेक महिलामा पाठेघरसम्बन्धी समस्या, पुरुषमा शुक्रकिटको संख्या कम हुनु, शुक्रकिट अत्यधिक टुक्रिनु वा शुक्रकिट नै नहुनुजस्ता समस्या बढी देखिने गरेको डाक्टर केसीले बताउनुभयो । यस्ता अवस्थामध्ये कतिपयलाई प्राकृतिक अण्डा उत्पादनमार्फत उपचार गर्ने गरिएको छ भने केहीमा श्रीमानको शुक्रकिटलाई प्रशोधन गरी सिधै महिलाको पाठेघरमा राखेर उपचार गर्ने गरिएको छ, जसबाट गर्भ रहन सक्ने सम्भावना अत्यन्त राम्रो देखिएको उहाँको भनाइ छ ।

यस्तै, आइभिएफ प्रविधिमार्फत महिलाको अण्डा र पुरुषको शुक्रकिट प्रयोग गरी प्रयोगशालामा भ्रुण तयार पारेर पाठेघरमा राख्ने सेवा पनि केन्द्रबाट उपलब्ध हुँदै आएको छ । सन्तान उत्पादनको अन्तिम चरणमा रहेका परिवारमा थप उत्साह र आत्मविश्वास जगाउने उद्देश्यले गर्भवति उत्सव कार्यक्रम आयोजना गरिएको केन्द्रका सञ्चालक विज्ञान भण्डारीले जानकारी दिनुभयो ।

दाङमै पहिलोपटक निसन्तानपनसम्बन्धी समस्याको उपचारका लागि स्थापना भएको केन्द्रले स्थापनाको छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ । सञ्चालक भण्डारीका अनुसार केन्द्रले स्थापनाको १० महिनाको अवधिमा ६ सयबढी दम्पतीलाई सन्तान प्राप्तिसम्बन्धी उपचार तथा परामर्श सेवा प्रदान गरिसकेको छ ।

केन्द्रमा दाङसहित रोल्पा, रूकुम, सल्यान, बर्दिया, बैतडी, कपिलवस्तु लगायतका जिल्लाबाट दम्पतीहरू उपचारका लागि आउने गरेका छन् । केन्द्रबाट सबैभन्दा पहिले प्युठान नगरपालिका–३ का एक दम्पतीले सन्तान प्राप्तिमा सफलता हासिल गरेका छन् भने हालसम्म उपचारपछि गर्भवती हुनेमध्ये सबैभन्दा ज्येष्ठ ४१ वर्षीया महिला रहेको केन्द्रले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस