सल्यान । सल्यानको कालिमाटी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको हो ।
चिसो मौसममा ज्येष्ठ नागरिकको स्वास्थ्य र जीवनस्तरमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिका भरका १९० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्क बहादुर वलीले बताउनुभयो ।
यसै क्रममा बुधबार कालीमाटी गाउँपालिका वडा नम्बर २ र ३ मा ८० वर्षमाथिका ६७ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
कार्यक्रममा ज्येष्ठ नागरिक पुरुषलाई ज्याकेट तथा महिलालाई स्विटर र बर्की प्रदान गरिएको छ भने यातायात खर्च बापत प्रतिव्यक्ति नगद पाँच सय रुपैयाँ पनि उपलब्ध गराइएको कार्यक्रम संयोजक दीप बहादुर वलीले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकहरूले चिसो मौसममा गाउँपालिकाबाट प्राप्त न्यानो कपडा र स्वास्थ्य सेवाले आफूहरूलाई राहत मिलेको भन्दै खुसी व्यक्त गरेका छन् । कार्यक्रममा न्यानो कपडा वितरणसँगै स्वास्थ्यकर्मीहरूले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था चेकजाँच गर्नुका साथै आवश्यक परामर्शसमेत प्रदान गरेका छन् ।
चिसो मौसमका कारण ज्येष्ठ नागरिकमा देखिन सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सेवासमेत समेटिएको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताउनुभयो ।
अध्यक्ष केसीले ज्येष्ठ नागरिक राज्य र समाजका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको संरक्षण र सम्मान गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष सनसिलता वली डिसी, प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वलीले ज्येष्ठ नागरिकको अनुभव र योगदान समाजका लागि मार्गदर्शक हुने उल्लेख गर्दै गाउँपालिकाले सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
यस्तै वडा नम्बर २ का वडा अध्यक्ष इन्द्र बहादुर वली, वडा नम्बर ३ का वडा अध्यक्ष शिव बहादुर खत्री लगायतले बोल्दै ज्येष्ठ नागरिकहरूको योगदानको चर्चा गर्नुभयो ।
‘पालिकाको साझा अभियान, ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै ज्येष्ठ नागरिकको हक, हित र अधिकारको संरक्षण, सम्मान, संरक्षण तथा सहभागिता प्रवद्र्धन गर्न यस्ता कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
बिहीबार वडा नम्बर ७ मा न्यानो कपडा वितरण गरिनेछ भने त्यसपछि पालिकाका अन्य वडामा समेत क्रमशः कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रम संयोजक वलीका अनुसार वडा नं. १ मा ३४ जना, २ मा ४४ जना, ३ मा २४ जना, ४ मा ३२ जना, ५ मा २१ जना, ६ मा ११ जना र ७ मा २४ जना गरेर पालिका भरी जम्मा १९० जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन् ।
कालीमाटी गाउँपालिकाले आगामी दिनमा पनि ज्येष्ठ नागरिकलगायत सामाजिक रूपमा कमजोर तथा पछाडि परेका वर्गको संरक्षण र सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
















