२०८२ माघ २५ गते आइतवार

तुलसुीपुरमा तीन हजार बढी बालबालिकाले खाए स्वर्णविन्दु


तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको राप्ती आयुर्वेद चिकित्सालयले आज सोमबार बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाएको छ ।

कार्यक्रम सुरु भएको आज दोस्रो महिना ६ महिनादेखि ५ वर्ष सम्मका तीन हजार बढी बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाइएको हो । प्रत्येक महिनाको पुष्यनक्षेत्रका दिन खुवाउने कार्यक्रम अन्तगर्त गत मंसिर २२ गतेदेखि कार्यक्रम सुरु भएको चिकित्सालयका सूचना अधिकारी डा.कैलाश न्यौपानेले बताउनुभयो ।

गत संसिरमा दुई हजार बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाइएको थियो । गत महिना भन्दा आज एक हजार बढी बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आज तीन हजार १४५ जना बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाइएको हो ।

स्वर्णविन्दु खुवाउन आज विहान ५ बजेदेखि तुलसीपुरसहित पश्चिम क्षेत्रका अभिभावकहरु बालबालिका बोकेर लाइनमा बसेका थिए । स्वर्णविन्दु बालबालिकाहरुलाई महिनामा एक पटक मात्र खुवाउने गरिन्छ ।

अव माघ १८, फागुन १७, चैत्र १४, बैशाखको १०, जेठको ६ र असारको ३ गते स्वर्णविन्दु खुवाउने कार्यक्रम रहेको डा.न्यौपानेले जानकारी दिनुभयो ।

चिकित्सालयका सूचना अधिकारी डा. न्यौपानेले स्वर्णविन्दु आयुर्वेदिक खोप रहेको बताउनुभयो । यसले बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने चिकित्सालयका न्यौपानेको भनाई छ । उहाँले स्वर्णविन्दुले बालबालिकाको शारीरिक र मानशिक स्वास्थ्यको वृद्धि विकास गराउनुका साथै पाचन शक्तिलाई मद्दत गर्ने, रोग प्रतीरक्षा प्रणालीलाई मजवुद बनाई संक्रमणबाट जोगाउने बताउनुभयो ।

स्वर्णविन्दु खुवाउने कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट एक लाख रुपैंया प्राप्त भएको चिकित्सालयका प्रमुख डा. मदन कुमार बिसीले बताउनुभयो । यो बजेट पर्याप्त नभएकाले तीन पटकसम्म मात्र बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाउन सकिने उहाँले जानकारी दिनुभयो । बाँकी रहेका महिनामा कार्यक्रमलाई कसरी अगाडी लैजाने भन्ने विषयमा सोच्नुपर्ने उहाँको भनाई छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस