तुलसीपुर । आन्तरिक राजस्व कार्यालय तुलसीपुर सार्वजनिक बिदामा पनि खुला रहने भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व कार्यालय तुलसीपुरले सार्वजनिक बिदामा समेत कार्यालय खुला रहने जनाएको हो ।
पुस महिना राजस्व संकलन तथा आय विवरण दाखिलाका हिसाबले महत्वपूर्ण भएकाले आज शनिबार र २७ गते आइतबार सार्वजनिक बिदा परे पनि कार्यालय सेवा प्रवाह कायम रहने कार्यालयले सूचना मार्फत जानकारी दिएको हो ।
करदाताहरूको सुविधा र सेवामा सहजता प्रदान गर्न विदाको दिनहरूमा राजस्व संकलन सम्बन्धी सम्पूर्ण कार्य सम्पादन गरिने कर अधिकृत श्रीधर टण्डनले जानकारी दिनुभयो । साथै, राजस्व संकलन गर्ने बैंक काउन्टरहरू समेत खुला रहने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयले सम्बन्धित सबै करदाताहरूलाई समयमै कर बुझाउन तथा आय विवरण दाखिला गर्न अनुरोध गरेको छ । करदातामैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै बिदाका दिनमा समेत सेवालाई निरन्तरता दिएकोे कार्यालय प्रमुख टण्डनले जानकारी दिनुभयो ।














