दाङ । दाङको तुलसीपुरमा रहेको पुष्पन हेल्थ केयरले व्यावसायिक मुनाफाभन्दा माथि उठेर मानवीय सेवालाई प्राथमिकता दिएको छ । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकताको विशेष अवसर पारेर हेल्थ केयरले मानव सेवा आश्रम तुलसीपुरमा आश्रित असहाय नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरी मानविय सेवालाई थप उचाईमा पुर्याएको हो ।
बिरामीहरू क्लिनिकसम्म आउने सामान्य परम्परालाई तोड्दै वरिष्ठ रेडियोलोजिष्ट डा. पुष्पराज रिजालसहितको विशेषज्ञ टोली अत्याधुनिक उपकरणसहित तुलसीपुरस्थित मानव सेवा आश्रमकै शाखामा पुगेर स्वास्थ्य जाँच गरेको हो ।
सडकमा बेवारिसे अवस्थामा भेटिएका र आश्रममा आश्रय लिइरहेका नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्ने र उनीहरूलाई समयमै उपचारको पहुँचमा पुर्याउने कार्यक्रमको मुख्य उद्देश्य हो ।

स्वास्थ्य जाँचका क्रममा टोलीले आश्रमका नागरिकहरूको भिडियो एक्सरे, सुगर र रक्तचाप (प्रेसर) को परीक्षण गरेको हो । परीक्षणका क्रममा केही आश्रितहरूमा जटिल स्वास्थ्य समस्या समेत फेला परेका छन् । डा. रिजालका अनुसार, भिडियो एक्सरे गर्दा चार जनालाई पित्त थैलीमा पत्थरी, पाँच जनालाई मृगौलामा पत्थरी, १० जनालाई पोष्टेडको समस्या, दुई जनालाई फोक्सोमा पानी जमेको, १० जना महिलालालाई तल्लो पेटको समस्या, अधिकांशमा कलेजोमा बोसो जमेको समस्या देखिएको छ ।
समयमै परीक्षण नहुँदा यस्ता रोगहरूले भित्रभित्रै जटिल रूप लिन सक्ने डा. रिजालले बताउनुभयो । आश्रमका ८२ जनालाई नै स्वास्थ्य जाँच गरिएको हो । आश्रमका प्रमुख हिरु जोशीले विशेषज्ञ डाक्टरको टोली नै आएर भिडियो एक्सरे जस्तो प्रविधिमार्फत सेवा दिएकोमा खुसी व्यक्त गर्नुभयो । सडकबाट उद्धार गरिएका नागरिकहरूका लागि यस्ता स्वास्थ्य शिविरहरूले जीवनदान सरह काम गर्ने उहाँले बताउनुभयो ।














