२०८२ माघ २५ गते आइतवार

तुलसीपुर–३ मा विकासको फड्को : गहते–शिवपुर पुलको शिलान्यास र त्रिवेणी पुलको उद्घाटन

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित गहते खोलामा निर्माण हुन थालेको पक्की पुलको शिलान्यास गरिएको छ ।

लामो समयदेखि वर्षातको समयमा यातायातको समस्या झेल्दै आएका गहते र शिवपुरबासीका लागि यो पुल निर्माण प्रक्रिया सुरु भएसँगै यस क्षेत्रमा नयाँ उत्साह थपिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले एक विशेष समारोहका बीच पुलको औपचारिक शिलान्यास गर्नुभयो ।

शिलान्यास पश्चात् सम्बोधन गर्दै नगरप्रमुख खड्काले नगरको समृद्धिका लागि भौतिक पूर्वाधारको विकास अनिवार्य रहेको बताउनुभयो ।

तुलसीपुर–३ को गहते क्षेत्र पछिल्लो समय पुल निर्माणको ’हब’ नै बनेको छ। विगतका वर्षहरूमा मात्रै यस क्षेत्रमा एकैपटक ३ वटा पक्की पुलहरू निर्माण सम्पन्न भएका थिए ।

यस क्षेत्रको विकास र पूर्वाधार निर्माणमा वडा अध्यक्ष वीर बहादुर विक (विजय) को भूमिका अत्यन्तै अहम र प्रशंसायोग्य देखिएको छ ।

त्रिवेणी घाट पुलको उद्घाटन
शिलान्यास कार्यक्रमकै अवसरमा गत वर्ष निर्माण सम्पन्न भएको त्रिवेणी घाट नजिकैको गहते–त्रिवेणी जोड्ने पक्की पुलको समेत उद्घाटन गरिएको छ । नगर प्रमुख खड्काले रिबन काटेर र शिलालेख अनावरण गर्दै पुलको औपचारिक उद्घाटन गर्नुभयो ।

पुल सञ्चालनमा आएसँगै स्थानीय कृषि उत्पादनको बजारीकरण र आवतजावतमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा स्थानीय बासिन्दाका साथै विभिन्न सामुदायिक वन उपभोक्ता समूह, टोल विकास संस्थाहरू, र महिला समूहहरूको बाक्लो उपस्थिति रहेको थियो । पुल निर्माणको स्वागत गर्दै नवीन शर्मा, मुकुन्द काफ्ले, हिरा थापा, कान्त प्रसाद खरेल, ढाका गैरे र बम बहादुर मल्ल लगायतले डाको सक्रियतामा विकासले गति लिएकोमा खुसी व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष वीर बहादुर विक (विजय) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य कर्णा बहादुर बुढाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरू शान्ता राणा, डिलमाया नेपाली, समाजसेवीहरू सोमराज घर्ती, भबिस्वर सापकोटा, खड्कापानी खरेल, सुशान्त मल्ल लगायतको उपस्थिति थियो ।

वडा अध्यक्ष विकले जनताको सेवा नै आफ्नो मुख्य धर्म भएको र आगामी दिनमा पनि विकासका कामलाई थप तीव्रता दिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको सहजीकरण वडा सदस्य राजेन्द्र गुरुङले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस