२०८२ फाल्गुन २९ गते शुक्रवार

निर्वाचन प्रहरीमा भर्ना हुन ५ दिनमा १ लाखको आवेदन, भोलिसम्म आवेदन दिन सकिने

दाङ । आगामी फागुन २१ ग्ते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि खुलाइएको निर्वाचन प्रहरीमा ५ दिनमा करिब १ लाख जनाले आवेदन दिएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)ले ७७ वटै जिल्लास्थित आ–आफ्ना कार्यालयमार्फत २५ पुसबाट आवेदन खुलाएकामा मंगलबारसम्म करिब १ लाखको दरखास्त परेको हो ।

२१ फागुनका लागि तय भएको निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जनाका लागि आवेदन खुलाएका थिए । १ माघसम्म आवेदन दिने अवधि तोकिएको छ ।

नेपाल प्रहरीका एसएसपी गोपालचन्द्र भट्टराईका अनुसार सोमबारसम्म प्रहरी र सशस्त्रतर्फ भर्ना हुन दरखास्त दिनेको संख्या ८८ हजार ७ सय ६३ रहेकामा मंगलबार साँझसम्म यो संख्या १ लाख हाराहारी पुगेको बताउनुभयो । मंगलबार दरखास्त दिनेको एकमुष्ट विवरण आउने क्रममा रहेको उहाँको भनाइ छ ।

‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ अनुसार एक जना निर्वाचन प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाले हुने ४० दिनको ३४ हजार रुपैयाँ तलब पाउनेछन् ।

यस्तै जिल्ला दररेट निर्धारण समितिले तोके अनुसार सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता (जिल्लाअनुसार फरक–फरक), निर्वाचनमा खटाइएको ठाउँमा जान र फर्किनलाई एक पटकका लागि प्रति व्यक्ति ८४६ रुपैयाँ (यातायात भत्ता), चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्चबापत एकमुष्ट १२ सय रुपैयाँ तथा जिल्लाको मौसमअनुसार प्रहरी र सशस्त्रले त्यस जिल्लामा निर्धारण गरेको पोसाक भत्ता अनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइने उल्लेख छ ।

यसरी दिइने सबै रकम सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा पठाइने भनिएको छ । निर्वाचनमा खटिने यो जनशक्ति कर्तव्य पालनाका क्रममा घाइते भएमा घाइते स्वयं र मृत्यु भएमा सरकारले तोकेअनुसारको क्षतिपूर्ति रकम नजिकको हकवालालाई उपलब्ध गराइने छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस