दाङ । दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटल एण्ड नर्सिङ कलेजका विद्यार्थीहरूले बिहीबार विविध कार्यक्रम गरी ६४ औँ राष्ट्रिय नर्सिङ दिवस मनाएका छन् । हस्पिटलका अध्यक्ष हरिप्रसाद रिजालको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रिजालले नर्सिङ क्षेत्र स्वास्थ्य सेवाको मेरुदण्ड भएको बताउनुभयो । उहाँले बिरामीको उपचारमा नर्सहरूको भूमिका र उनीहरूले पुर्याउने मानवीय सेवाको प्रशंसा गर्दै विद्यार्थीहरूलाई आफ्नो पेशाप्रति सधैँ इमानदार रहन सुझाव दिनुभयो ।
हस्पिटलका प्रवन्ध निर्देशक जीवन भण्डारीले नर्सिङ पेशाले मानव सेवाको सन्तुष्टि दिने बताउनुभयो । उहाँले दिनभरी काम गरेर फर्कदा मानव सेवाको सन्तुष्टी मिल्ने पेशा नै नर्सिङ पेशा भएको बताउनुभयो ।
डाइरेक्टर दोर्ण वलीले नर्सिङ पेशालाई केवल रोजगारीका रूपमा मात्र नलिन र यसलाई सेवाको उच्च भावनाका रूपमा आत्मसात गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य तथा नाटक प्रस्तुति गरेका थिए ।
अस्पताल र कलेज प्रशासनको सक्रियतामा भएको उक्त कार्यक्रमले नर्सिङ पढ्दै गरेका विद्यार्थीहरूमा उत्साह थपेको छ । बिरामीको निको हुने प्रक्रियामा प्राविधिक ज्ञानसँगै नर्सको व्यवहार र सेवाभावले ठूलो प्रभाव पार्ने भएकाले यस पेशाको महत्व विश्वभर नै उच्च रहेको छ ॥














