२०८२ फाल्गुन २९ गते शुक्रवार

दाङमा एचपिभी खोप माघ २५ देखि दुई चरणमा सञ्चालन हुँदै


दाङ । दाङमा स्वास्थ्य कार्यालयको आयोजनामा माघ २५ गतेदेखि दुई चरणमा एचपिभी खोप सञ्चालन हुने भएको छ । जिल्ला पूर्ण खोप समन्वय समिति दाङको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराइएको हो । खोप सञ्चालनका विषयमा बिहिबार घोराहीमा आयोजित सरोकारवालाहरुसंग सम्पन्न अन्तरक्रिया कार्यक्रमममा यस्तो जानकारी गराइएको हो ।

पहिलो चरणमा माघ २५ गतेदेखी २७ गतेसम्म घोराही उपमहानगरपालिकासहित लमही नगरपालिका, राप्ती गाउँपालिका,गढवा र राजपुर गाउँपालिका भित्र तोकिएका केन्द«हरुमा खोप लगाउने र सो समयमा छुटेका किशोरीहरुलाई स्वास्थ्य संस्थामा फागुन ४ गतेसम्म खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ ।

यस्तै दोस्रो चरणमा माघ २८,२९ र फागुन १ गते तुलसीपुर उपमहानगरपालिकासहित, बबई गाउँपालिका, शान्तीनगर, दंगीशरण र बंगलाचुली गाउँपालिका भित्र तोकिएका खोप केन्द्रमा खोप लगाउने र छुटेका किशोरीहरुलाई स्वास्थ्य संस्थामा फागुन ४ गतेसम्म खोप लगाउन सकिने छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन किशोरीहरुलाई एचपिभी खोप अत्यन्त प्रभावकारी रहेको बताएका थिए । समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले खोपको प्रभावकारितालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

समाजमा खोपसम्बन्धी विभिन्न भ्रम रहेकाले त्यसलाई चिर्न अभिभावकहरूले आफ्ना छोरीहरुलाई खोप लगाउन प्रेरित गर्नुपर्ने बताउनुभयो । साथै उहाँले खोप भण्डारणको व्यवस्थापनसंगै विद्यालयभन्दा बाहिर रहेका उमेर समूहलाई पनि खोप अभियानमा समेट्नुपर्ने गरि कार्यक्रम तयार गर्न सुभाव दिनुभयो ।

स्वास्थ्य कार्यालय दाङका अनुसार पाठेघरको मुखको क्यान्सरबाट जोगिन प्रभावकारी मानिने एचपिभि खोप यसवर्ष कक्षा ६ मा अध्ययनरत किशोरीहरु,लक्षित उमेर समुहमा गतवर्ष छुटेका,हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय वाहिर रहेका ११ देखि १४ वर्ष उमेर समुहका किशोरीहरूलाई प्राथमिकताका साथ लगाउने कार्यतालिका रहेको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार एचपिभि भाइरसका कारण हुने पाठेघरको मुखको क्यान्सर, यौनाङ्गसम्बन्धी क्यान्सर तथा यौन सम्पर्कबाट सर्ने समस्याबाट बच्न यो खोप अत्यन्त उपयोगी छ । एचपिभि खोप यो उमेरमा लगाउँदा शरीरमा बलियो प्रतिरक्षा प्रणाली विकास हुने र भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यून हुने गर्दछ ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विकास गौतम,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी लगायतका वक्ताहरूले छोरीहरूलाई भविष्यमा हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपिभी खोप अत्यन्त प्रभावकारी रहेको बताउँदै सबैले आ–आफ्नो क्षेत्रबाट खोप अभियानमा उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य कार्यालय दाङका कार्यालय प्रमुख ठगबहादुर गुरुङको विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण फोक्कल पर्सन भानुज्योति ओलीले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस