दाङ। पार्लर महिलाहरुको लागि स्वरोजगारको माध्यम बन्न थालेको छ । बढ्दो सहरीकरण र आधुनिक जीवनशैलीसंगै पार्लरमा राम्रो संभावना बढ्न थालेपछि तुलसीपुरमा पनि पार्लर क्षेत्रमा लगानी थपिन थालेको छ ।
तुलसीपुरमा फेरि करिब २५ लाखको लगानीमा पार्लर संचालनमा आएको छ । तुलसीपुरको विपिचोकदेखि उत्तरतर्फ एस.एल लेडिज, जेन्स पार्लर एण्ड ट्रेनिङ सेन्टरमा संचालनमा आएको हो । यसअघि नै लामोसमयदेखि व्यवसायमा रहनुभएकी लक्ष्मी बोहरा (मल्ल) र सिर्जना खड्काले पार्लर संयुक्तरुपमा संचालनमा ल्याउनुभएको हो ।

पार्लरको मंगलबार (आज) उद्घाटन गरिएको छ । पार्लरको उद्घाटन ज्येष्ठ नागरिक ७६ वर्षिय बासुदेव मल्लले गर्नुभएको हो । महिला उद्यमी सपना भण्डारी बस्नेत, तुलसीपुर चेम्बर अफ कमर्शका सल्लाहकार बेणु अधिकारी लगायतको उपस्थितिमा पार्लरको उद्घाटन गरिएको हो ।

मानिसहरूको जीवनशैली आधुनिक बन्दै गएकाले पनि पछिल्लो समय पार्लरको आवश्यकता बढ्दै गएको हो । तुलसीपुरमा पार्लरमार्फत धेरै महिला आत्मनिर्भर बन्न थालेका छन् ।
विषेशगरी औपचारिक कार्यक्रम, भोजभतेर र दैनिक कार्यालय जानेहरू तथा व्यक्तिगत साजसज्जाका लागि पनि पार्लर अनिवार्य जस्तै बनेपछि महिला उद्यमीले पार्लरमा लगानी बढाउँदै लगेका छन् ।














