सल्यान । सल्यानमा बाघको आक्रमणका घटना बढ्दै गएका छन् । बाघले मानिस र घरपालुवा पशुहरुमा आक्रमण थालेपछि स्थानीय त्रसित बनेका छन् । कालिमाटी गाउँपालिकामा बाघको आक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले ८ वटा भेडा–बाख्रा मारेको छ ।
स्थानीय किसानले जङ्गलमा चराउन लगेका बेलामा पशुचौपायामाथि बाघले आक्रमण गर्दा ६ वटा बाख्रा र २ वटा भेडा मरेका हुन् । जिल्ला समन्वय समिति सल्यानका सदस्य तथा स्थानीय बासिन्दा चेतन गिरीले सुनचौरका विभिन्न किसानका पशुचौपाया बाघको आक्रमणमा परेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सुनचौर निवासी किसान विनोद घर्तीका तीन वटा बाख्रा, जरसिंह घर्तीका दुई वटा बाख्रा, रुपसिंह पुनका एउटा बाख्रा तथा दलबहादुर पुनका दुई वटा भेडा बाघले मारेको हो ।
स्थानीय ज्योति पुनले चरिचरणका लागि जंगल लगिएका बाख्रा अबेरसम्म घर नफर्किएपछि गाउँलेहरू खोजी गर्दा बाघले मारेको अवस्थामा पशुचौपाया फेला परेको बताउनुभयो ।
घटनास्थल पुग्दा बाघले मारेका बाख्रा खाँदै गरेको देखिएको थियो । स्थानीय बासिन्दाले जङ्गली जनावरको बढ्दो आक्रमण नियन्त्रण गर्न वन कार्यालय तथा सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।















