दाङ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ ।
यस्तै एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.१०० वृद्धि गरिएको छ । अब १४.२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ । मूल्य वृद्धि गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने जनाएको छ । निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ ।














