२०८३ असार २ गते मङ्गलवार

दुईदिने बिदा स्वास्थ्य क्षेत्रमा पूर्ण लागू नहुने

दाङ । दुईदिने बिदा स्वास्थ्य क्षेत्रमा पूर्ण लागू नहुने भएको छ । आलोपालो बिदा बसेर अस्पताल सञ्चालन गर्नुपर्ने भएको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य क्षेत्रमा भने उक्त व्यवस्था पूर्ण रूपमा लागू नहुने भएको हो ।

वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय र प्रादेशिक अस्पताललाई आलोपालो बिदा मिलाएर ओपिडी सेवा सञ्चालन गर्न आग्रह गरेको हो । मन्त्रालयले डाक्टर तथा कर्मचारीलाई सातामा दुई दिन बिदा पर्ने गरी पालो मिलाएर बिदा बस्न अनुरोध गरेको छ ।

तर, अस्पतालका ओपिडी तथा उपचार सेवा भने लगातार दुई दिन बन्द नगर्न स्पष्ट निर्देशन दिइएको छ । लगातार दुई दिन सेवा बन्द हुँदा बिरामी मारमा पर्ने भन्दै स्वास्थ्यकर्मीले पहिलेदेखि नै यस्तो व्यवस्था अस्पतालमा लागू गर्न नहुने बताउँदै आएका छन्‌ । यसको सट्टा उनीहरूले अतिरिक्त कामका लागि थप सुविधा उपलब्ध गराउन माग गरेका छन्‌ ।

यसअघि शनिबार मात्र बिदा हुँदा पनि आइतबार सरकारी अस्पतालमा बिरामीको अत्यधिक चाप देखिने गरेको थियो । अब दुई दिन बिदा दिँदा उपचार सेवा प्रभावित हुने र सोमबार अत्यधिक भिड हुने सम्भावना भएकाले आइतबार पनि पालो मिलाएर ओपिडी सञ्चालन गर्न निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो ।

सातामा दुई दिन सार्वजनिक बिदा हुँदा ओपिडीदेखि शल्यक्रियासम्मका सेवामा असर पर्ने अस्पतालहरूले बताएका छन्‌ । यता स्वास्थ्यकर्मी र अस्पताल कर्मचारीले भने आइतबार ओपिडी सञ्चालन गर्दा सो दिनको अतिरिक्त पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गरेका छन्‌ । अस्पतालका चिकित्सकहरू पनि आइतबार सेवा सञ्चालन गर्नुपर्ने निर्णयप्रति असन्तुष्ट देखिएका छन्‌ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस